०५ साउन २०८३, मंगलबार

निर्माण व्यवसायीको रकम चाँडै भुक्तान गरिने अर्थमन्त्री खतिवडाको भनाइ

निर्माण व्यवसायीको रकम चाँडै भुक्तान गरिने अर्थमन्त्री खतिवडाको भनाइ

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले निर्माण व्यवसायीहरुको रकम चाँडै भुक्तान गरिने बताएका छन् । 

आफ्नै कार्यकक्ष सिंहदरबारमा सोमबार नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थ मन्त्री डा खतिवडाले व्यवसायीलाई भुक्तान गर्नुपर्ने रकमको यकिन विवरण प्राप्त नभएकाले केही समस्या आएको बताए । 

सरकारसँग बजेटको समस्या नरहेको प्रष्ट पार्दै मन्त्री डाक्टर खतिवडाले ठोस विवरण प्राप्त हुने बित्तिकै रकम भुक्तान गरिने बताए । 

 “अब केही दिनमा सबै विवरण प्राप्त भए लगत्तै व्यवसायीको रकम भुक्तान गरिनेछ” मन्त्री खतिवडाले भने । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले भुक्तानी तथा करमा ब्याज र हर्जाना छुटका विषयमा अर्थमन्त्री डाक्टर खतिवडाको ध्यानाकर्षण गर्दै समस्या समाधानका लागि आग्रह गरेको थियो । सरकारी निकायबीच समन्वय नहुँदा निर्माण व्यवसायीको काममा पाइलै पिच्छे समस्या आएको तर्फ पनि महासंघ प्रतिनिधिमण्डले अर्थमन्त्री खतिवडाको ध्यानाकर्षण गराएको छ ।

संघीय सरकारले प्रदेश सरकार र स्थानीय सरकारलाई संचालनमा रहेका विभिन्न सडक, भवन, पुल लगायतका परियोजनाहरु हस्तान्तरण गरेको जानकारी प्रतिनिधिमण्डलले मन्त्री खतिवडालाई गराएको छ । तर परियोजनाहरुको निर्माणाधीन अवस्थामा हस्तान्तरण गर्दा निर्माण व्यवसायीहरुलाई निर्माण कार्य संचालन गर्ने र निर्माण कार्य सम्पन्न भई बिल समेत पेश गरेका आयोजनाहरुको भुक्तानी नहुने वातावरण सृजना भएको महासंघ अध्यक्ष सिंहले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्