
काठमाडौं — एयर इन्डियाको विमानमा यूएईको दुबईबाट भारतको लखनउ आइरहेका एक व्यक्तिले विमानभित्रै सबै कपडा खोलेर नांगै डुलेको घटना सार्वजनिक भएको छ ।
शनिवार यो घटना हुँदा विमान उडानकै क्रममा थियो । ती यात्रीको हर्कत देखेर अन्य यात्रु छक्क परे ।
पछि एयर इन्डियाका कर्मचारीले यात्रीलाई कम्बलले बेरे अनि समातेर सीटमा बसाए ।
ती ३५ वर्षीय यात्रीले किन यसो गरेको भन्ने कुरा बल्ल खुलेको छ । दुबईमा रोजगारदाताबाट पीडित रहेका ती व्यक्तिलाई मानसिक समस्या रहेछ । त्यसैले गर्दा उनले कपडा खोलेका रहेछन् ।
सीआईएसएफका एक अधिकारीले बताएअनुसार, ती युवकको नाम सुरेन्द्र हो । सुरेन्द्रका रोजगारदाता पाकिस्तानी थिए र उनलाई सताइरहन्थे । उनी सुरेन्द्रलाई छुट्टी पनि दिँदैनथिए । विमान पाकिस्तानमा अवतरण हुन लाग्यो कि क्या
हो भन्ने सुरेन्द्रलाई लाग्यो । त्यसैले उनले विरोधमा कपडा उतारे ।
उन्नाव नामक स्थानमा बस्ने सुरेन्द्रलाई विमान अवतरण भएपछि सीआईएसएफलाई बुझाइयो । उनलाई सोधपुछपछि छोडिएको थियो ।
एजेन्सी