
काठमाडौं — भारतको केरल प्रदेशमा रहेको सबरीमाला मन्दिरमा दुई महिलाले भगवान् अयप्पाको दर्शन गरेको दाबी गरेका छन् ।
उनीहरूको दाबीपछि अहिलेका लागि मन्दिरको द्वार बन्द गरिएको छ ।
सन् २०१८ मा सर्वोच्च अदालतले फैसला गर्दै १० देखि ५० उमेरका महिलालाई मन्दिरमा प्रवेश गर्न रोक लगाउन नमिल्ने बताएको थियो । तर फैसलापछि पनि उक्त उमेर समूहका महिलाले अयप्पाको दर्शन गर्न पाएका छैनन् ।
त्यो उमेरका महिलाको महिनावारी हुने हुने तर्क गर्दै उनीहरुलाई मन्दिर प्रवेशमा प्रतिबन्ध लगाउने गरिएको थियो ।
केही महिला कार्यकर्ताले मन्दिर प्रवेशको कोशिश गरेको भए पनि भारी विरोधका कारण छिर्न पाएनन् ।
केरलका मुख्यमन्त्री पी विजयनले पनि दुई महिलाले सबरीमाला मन्दिरमा प्रवेश गरेको बताए । मन्दिर प्रवेश गर्न चाहने महिलालाई प्रहरीले पूर्ण सुरक्षा गर्ने आदेश सरकारले दिएको उनले बताए ।
मिडिया रिपोर्टअनुसार, विन्दु र कनकदुर्गा नामक दुई महिलाले भगवान् अयप्पाको दर्शन गरेको दाबी गरेका छन् । दुवै महिलाले एक स्थानीय च्यानललाई बताएअनुसार, उनीहरूले बिहान सबेरै साढे तीन बजे दर्शन गरेका थिए ।
महिलासँग प्रहरी पनि थिए र उनीहरू मन्दिरभित्र पसे ।
सुरक्षाका कारण महिलाहरू मन्दिर दर्शनपछि कहाँ गए भनी जानकारी दिइएको छैन । दुवै महिलाको उमेर ४० वर्षभन्दा कम रहेको बताइएको छ ।
जनवरी १४ मा माकाराजोदुविदलैके नामक स्थानीय पूजा गरेपछि जनवरी २० मा बिहान ७ बजे मन्दिर बन्द गरिनेछ ।
हिजो सबरीमाला मन्दिरमा महिलाहरूले प्रवेश पाउनुपर्ने माग राख्दै केरलमा मानव साङ्लो बनाउने महिलाहरूमाथि भाजपा र आरएसएसका केही कार्यकर्ताले ढुंगामुढा गरेको बताइएको छ । उनीहरूले महिला र प्रहरीमाथि ढुंगामुढा
गरेको जसले गर्दा उक्त क्षेत्रमा तनाव बढेको बताइएको छ ।
उनीहरूले मिडियाकर्मीमाथि पनि ढुंगा फ्याँकेको र पछि प्रहरीले बल प्रयोग गरेर उनीहरूलाई हटायो ।
एजेन्सी