०१ असार २०८३, सोमबार

क्षितिज सिकाइ मेला सिन्धुपाल्चोकमा गरिँदै

क्षितिज सिकाइ मेला सिन्धुपाल्चोकमा गरिँदै

काठमाडौं — टीच फर नेपालका प्रज्ञार्थीहरूको अग्रसरतामा “क्षितिज सिकाइ मेला” नामक बृहत् सिकाइ मेला यही पुस २७ गतेका दिन श्री भोताङदेवी माध्यमिक विद्यालय, भोताङ–३, सिन्धुपाल्चोकको प्राङ्गणमा हुन गइरहेको छ ।   

सिन्धुपाल्चोकको उत्तरी भेगमा रहेको पाँचवटा माध्यमिक विद्यालयहरूको संयुक्त सहकार्यमा यो सिकाइ मेला आयोजना हुन गइरहेको हो । 

“विज्ञान, प्रविधि र कलाको प्रवर्द्घन, हामी सबैको सम्बोधन” भन्ने मूल नारा लिई आयोजना हुन लागेको यस सिकाइ मेलाको मूल उद्देश्य भनेकै विद्यार्थी मात्र नभई शिक्षक र शैक्षिक अभियन्ताहरूको पनि सिकाइका साथ साथै शैक्षिक स्थितिको सुधार एवम् प्रवर्द्धन गर्नु हो ।

२०७४ साल मंसिर १५ गते श्री रैथाने माध्यमिक विद्यालयको प्राङ्गणमा प्रथमपटक आयोजना भएको यस मेला १४ सय ७० दर्शकहरूले अवलोकन गर्नुभएको थियो जसमध्ये विभिन्न विद्यालयबाट १२ सय ४० विद्यार्थी, २३० अभिभावक र अन्य अतिथिहरू (स्थानीय प्रशासकीय अधिकृतहरू, विभिन्न संघसंस्थाका व्यक्तित्वहरू) समावेश हुनुभएको थियो । 

यस वर्षको मेलामा पाँचपोखरी गाउँपालिकाको १० वटा नै माध्यमिक विद्यालयले भाग लिने तयारी भइरहेको छ ।

क्षितिज सिकाइ मेलामा विद्यार्थीहरूको सिकाइको क्षितिज उजागर हुन्छ । अन्ततः विद्यार्थीहरूले जीवनमा शिक्षाको आवश्यकता किन पर्दछ र शिक्षालाई जीवनोपयोगी कसरी बनाउन सकिन्छ भन्ने प्रश्नको उत्तर आफैंले खोज्ने प्रयत्न गर्दछन् । 

यसै मेलामार्फत विद्यालय र स्थानीय सरकारबीचको सहकार्यले शैक्षिक क्षेत्रमा कसरी सुधार गर्न सकिने रहेछ भन्ने कुरा पनि प्रस्ट रूपमा देखिन्छ । उचित योजना, आपसी सहकार्य र साझेदारीका साथसाथै धैर्य भएमा हाम्रो समुदायमा दिगो विकास हुन सक्छ भन्ने ज्वलन्त उदाहरणको रूपमा क्षितिज सिकाइ मेला प्रस्तुत भएको छ । 

यस मेला निम्नलिखित उद्देश्यहरूका साथ सञ्चालन भएको छ :
क) एसईई दिने विद्यार्थीहरूका लागि उच्च शिक्षाका निमित्त परामर्श सेवा ।
ख) कार्यरत शिक्षकहरूको सशक्तीकरण र विद्यार्थीहरूको सिकाइ प्रक्रियाको विकासको निमित्त ।
ग) यस भेगमा रहेको शिक्षाका सबै सरोकारवालाहरू जस्तै जिल्ला शिक्षा कार्यालय, गाउँपालिका, समुदाय र विद्यालयहरू एकै ठाउँमा आउने अवसर ।
घ) विद्यार्थीहरूको सिकाइ जीवनोपयोगी बनाउने अवसर ।
ङ) विद्यालयको क्रियाकलापमा समुदायको प्रत्यक्ष सहभागिता ।
 

salt training

कमेन्ट गर्नुहोस्