
काठमाडौं– नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी विमान कमसल रहेको समेत पाइएको छ ।
वाइडबडी खरिदमा ४ अर्ब रुपैयाँ बढी अनियमितता भएको निष्कर्ष निकाल्दै सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले विमानमा प्रयोग भएका वस्तु समेत कमसल रहेको विवरण सार्वजनिक गरेकाे छ ।
उपसमितिले अध्ययनका क्रममा गरेको निरिक्षणमा विमानमा प्रयोग भएका सामान कमसल रहेको पाइएकाे जनाएकाे छ ।
अध्यनका क्रममा सांसद धर्मशिला चापागाई, प्रेमबहादुर आले र प्रदिप यादव तथा सार्वजनिक लेखा समितिका सचिव डा. रोजनाथ पाण्डेले निरिक्षण गरेका थिए ।
सो क्रममा विमानमा प्रयोग गरिएका वस्तु कमसल रहेको पाइएको उपसमितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सरकारले खरिद गरेका दुईटै वाइडबडीमध्ये एउटा विमान उडानमा रहेको र अर्कोको चक्काको गियरमा समस्या आएका कारण विगत २२ दिन देखि ग्राउण्डेड रहेको उपसमितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सो विमानको पखेटामा चरा ठोकिएका कारण चक्काको गियरमा समस्या आएकोले २२ दिन देखि थन्किएको र उडान नहुँदा थप आर्थिक भार बेहोर्न परेको उपसमितिको प्रतिवेनमा उल्लेख गरिएको छ ।
त्यस्तै सरकारले खरिद गरेका २ वटा वाइडबडी विमानमध्ये पहिलो विमान गत असार १४ मा काठमाडौंमा आइपुगेको थियो । र दोस्रो विमान गत साउन १० मा काठमाडौं आइपुगेको थियो ।
विमान खरिद गर्न निगमले बनाएको आरएफपीअनुसार पहिलो विमान २०१७ को सेप्टेम्बर र दोस्राे विमान २०१८ को मार्चमा काठमाडौं आइपुग्नुपर्ने थियो ।
यसरी विमान खरिदमा भएको ढिलाइका कारण निगमले पहिलो विमानबाट ९ महिनाको आम्दानी र दोस्रो विमानबाट ४ महिनाको आम्दानी समेत गुमाएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यसअघि उपसमितिको प्रतिवेदनले विमान खरिदमा संलग्न तीन जना सचिव तथा दुई जना पूर्वमन्त्री र हाल बहालमा रहेका मन्त्रीलाई हदैसम्मको कारवाही गर्न सरकारलाई निर्देशन दिन समितिलाई सिफारिस गरेको छ ।