
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल वायु सेवा निगमको जहाज खरीदमा अनियमितता बारे संसद्को सार्वजनिक लेखा समितिको छानबिन प्रभावित गर्न सरकारले आयोग गठन गरेको आरोप लगाएको छ ।
लेखा समितिको शुक्रवारको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका डा. मिनेन्द्र रिजालले लेखा समितिले गठन गरेको उपसमितिले प्रतिवेदन बुझाएलगत्तै सरकारले आयोग गठन गर्नु आश्चर्यको विषय भएको बताएका हुन् ।
‘सरकारले जे जे कमिटि बनाउछ, बनाइराखोस । तर अख्तियारलाई यसमाथि कारवाही गर्ने प्रक्रियालाई अबरोध गर्ने किशिमले कुनै पनि समिति बनाउन पाउँदैन’ रिजालले भने, ‘सरकारले न्यायिक छानविन आयोग बनायो अब लेखा समिति चुप लाएर बस्नु पर्छ भन्ने तर्कसँग सहमत हुन सकिदैन । महालेखाको प्रतिवेदनलाई आधार बनाएर सरकारकारलाई उत्तरदायी बनाउने काम लेखा समितिको हो ।’
सरकारले आयोग गठन गर्दैमा लेखाले आफ्नो काम छाड्न नहुने र अख्तियारलाई छानबिनमा अवरोध गर्न नहुने उनले बताए । ‘सरकारलाई संसद्प्रति उत्तरदायी बनाउने काम लेखा समितिको हो,’ रिजालले भने, ‘यदि लेखा समितिको कामलाई सरकारले हस्तक्षेप गर्छ भने संसद्को उपादेयता समाप्त हुन्छ ।’
संसदीय समितिको कामलाई प्रभावित पार्न खोजे राजनीतिले अरु बाटो समात्ने रिजालले चेतावनी छ । उनले समितिको सभापति को छ भन्ने हिसाबले राजनीतिक रेखामा विभाजित भएर संसद् उम्किन नमिल्ने बताए ।
उपसमितिको प्रतिवेदनलाई लिएर नेकपा सांसदहरूले निष्पक्षतमा माथि प्रश्न गरेका छन् ।