
काठमाडौँ– निवृत्तिभरण (पेन्सन) कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभाको अर्थ समितिले पारित गरेको छ । समितिले दफाबार छलफलपछि प्रतिवेदनसहितको सदनमा पेस गर्ने निर्णयसहित विधेयक पारित गरेको हो । अर्थ समिति सचिव सुरेन्द्र अर्यालले समितिले दफाबार छलफलको प्रतिवेदन तयार पारेको जानकारी दिए ।
प्रस्तावित विधेयक साउन १ देखि नियुक्त हुने कर्मचारीको हकमा लागू हुनेछ । जसमा निजामती सेवा, नेपाल स्वास्थ्य सेवा तथा व्यवस्थापिका संसद् सेवाका कर्मचारीलाई लागू हुनेछ ।
यस्तै, सैनिक सेवा, नेपाल प्रहरी सेवा, सशस्त्र प्रहरी बल र नेपाल विशेष सेवाका कर्मचारीको हकमा पनि यो व्यवस्था लागू हुनेछ ।
विधेयक पारित भएपछि सरकारले एउटा स्वायत्त कोष स्थापना गर्नेछ । कोषको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट नियुक्त हुने व्यवस्था विधेयक प्रस्तावित छ । सरकारले स्थापन गरेको कोषमा प्रत्येक कर्मचारीको खाता रहनेछ ।
कोषमा कर्मचारीका तर्फबाट तलबमानको ६ प्रतिशत मासिक रूपमा कट्टा गरी जम्मा गर्ने व्यवस्था मिलाइनेछ । यस्तै, सरकारले कट्टा भएको रकम बराबरको रकम सम्बन्धित कर्मचारीको खातामा जम्मा गर्नेछ । गोरखापत्र दैनिकमा विस्तृतमा खबर छापिएको छ ।