
सिड्नी (अस्ट्रेलिया) - क्रिकेटसम्बन्धी विषयवस्तु समेटिएको नेपाली फिल्म निर्माण हुने भएको छ। अष्ट्रेलियाको सिड्नीमा आयोजित एक कार्यक्रमकाबीच फिल्म निर्माणको घोषणा भएको हो ।
एक्सपर्ट एजुकेसनका निर्देशक सञ्जीव शर्माले फिल्मको निर्माण गर्ने संस्थाका सद्धभावना दूत समेत रहेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले बताए ।
खड्काले खेलकुद विधामा कम फिल्म निर्माण भइरहेको अवस्थामा यस्तो घोषणा उत्साहजनक भएको बताए ।
'खेलकुद विधामा कम फिल्म निर्माण भइरहेको अवस्थामा क्रिकेटसम्बन्धी फिल्म निर्माणको खबर निकै उत्साहजनक छ । फिल्ममा सफल क्रिकेटर बन्नका लागि गर्नुपर्ने संघर्षको कथा हुनेछ,’ खड्काले भने ।
फिल्मका मुख्य अभिनेता सुनोद श्रेष्ठ रहनेछन् । अन्य कलाकार र निर्देशक भने छिट्टै सार्वजनिक हुने फिल्म निर्माण गर्न लागेका सञ्जीव शर्माले जानकारी दिए ।
मुख्य अभिनेता श्रेष्ठको यो डेब्यु फिल्म हो । यसअघि उनले आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । सात समुन्द्र पारी, बिर्सन सक्दिन, तिमि र म असाध्यै रुचाइएका म्युजिक भिडियो हुन् ।

श्रेष्ठले अष्ट्रेलियन टेलिभिजन च्यानल सेभनका प्रसारण हुने विनर एण्ड लुजरको संस्करणमा समेत अभिनय गरिसकेका छन् । अष्ट्रेलियाको प्रख्यात टेलिभिजन एसबीएसमार्फत् प्रसारण हुने टेलिफिल्म विल्फेर्ड द डगमा समेत उनले अभिनय गरेका थिए ।
यस्तै हास्य टेलिश्रृखंला उत्पादन गर्ने कमेडी टेलिभिजनको ओपन स्यालदरमा पनि काम गरिसकेका छन् । उनले च्यानल नाइनमार्फ प्रशारण भएको ग्यालोपोली वारमा गोर्खालीको रूपमा गरेको अभिनय असाध्यै चर्चित थियो । सुनोदले सन् २०१६ मा अष्ट्रेलियन फिचर फिल्म द मेन कफ मेथोडमा पनि अभिनय गरेका थिए ।
- अस्ट्रेलियाबाट शिशिर ढकाल