०५ साउन २०८३, मंगलबार

‘मेरो छोरा मोर्चाको कार्यकर्ता थिएन

कात्तिक २०, २०७४
‘मेरो छोरा मोर्चाको कार्यकर्ता थिएन
मेरो नाम लक्ष्मण मेहता हो । म राजविराजमा पसल चलाउँछु । प्रहरीले विनाकारण गोली हानेर मेरो छोराको हत्या गर्‍यो । घरबाट पसलतिर आउँदै गरेको मेरो छोरालाई प्रहरीले समातेर गोली हानेका हुन् । उनीहरूले सिधै टाउकोमा गोली हानेका छन् ।
फाेनमा बेल्दै लक्ष्मण मेहता

छोराले लोकसेवाको तयारी गरिरहेको थियो । बिए पास गरेपछि छोरा लोकसेवाको तयारीमा जुटेको थियो । मेरो छोरा मोर्चाको कार्यकर्ता समेत थिएन । मोर्चाको विरोध कार्यक्रममा एक्यबद्धता जनाएको भएपनि ऊ आन्दोलनमा आफैं सरिक भएको थिएन ।

मेरो छोरोले कुनै पनि उच्छृंखल गतिविधिसमेत गरेको थिएन । राजविराजमै हामीले सञ्चालन गरिरहेको पानपसलतर्फ आउँदै गरेको छोरोलाई प्रहरीले गोली हानेको हो ।

उसलाई दुकानबाट बाहिर निस्कने फुर्सदै हुँदैनथ्यो । आन्दोलनमा पनि खासै जाँदैनथ्यो तर प्रहरीले गोली हानेर मारिदियो ।

छोराको नौ महिनाअघि मात्रै विवाह भएको थियो । नवविवाहिता बुहारी अहिले पनि अचेत अवस्थामा छिन् । उनको धरानमा उपचार भइरहेको छ ।

जेठो छोरा पनि अचेत अवस्थामा छ । उसको पनि धरानमै उपचार भइरहेको छ । गोली लागेको शरीर देख्नेबित्तिकै हामी आत्तियौं । मेरा जहान पनि निकै आत्तिएकी छिन् ।

सञ्जनलाई घाइते अवस्थामा देख्नेबित्तिकै हामी सबै बेहोश भयौं ।

मोर्चाले शान्तिपूर्ण आन्दोलन गरिरहेको बेलामा प्रहरीले गोली हानेर गल्ती गरेको हो ।
केपी ओली मधेशमा आएको कारणले मेरो छोराको ज्यान गयो । कतैबाट गोली हान्ने कुनै आदेश आएको छैन, तर प्रहरीले मेरो छोरालाई गोली हान्यो ।

अहिलेसम्म सञ्जनको शव हामीले पाएका छैनौं । हामीलाई प्रहरीले शव दिएको छैन । हामी सामान्य मान्छेमाथि प्रहरीले अन्याय ग–यो ।

(लक्ष्मण मेहतासँग लोकान्तरले गरेको कुराकानीमा आधारित)
तस्वीर सौजन्य : किशोर कुमार यादव

salt training

कमेन्ट गर्नुहोस्