काठमाडौं– नेपाली वायुसेवा कम्पनीहरूले आइतबारदेखि लागू हुने गरी आन्तरिक हवाई रुटमा ४ सय ४० रुपैयाँसम्म हवाई भाडा घटाएका छन् । आयल निगमले बिहीबार मध्य रातदेखि लागू हुने गरी एयर टरबाइन फ्युल (हवाई इन्धन) को मूल्य प्रतिलिटर १० रुपैयाँसम्म घटाएपछि एयरलाइन्सहरूको एक मात्र संगठन वायुसेवा सञ्चालक संघले आइतबारदेखि लागू हुने गरी हवाई भाडामा लिइने फ्युल सरचार्जमा कम्तीमा ४० रुपैयाँदेखि ४ सय ४० रुपैयाँसम्म घटाउने निर्णय गरेको हो ।
संघका प्रवक्ता घनश्याम आचार्यका अनुसार सबैभन्दा धेरै धनगढी–काठमाडौं रुटको एकतर्फी भाडामा ४ सय ४० रुपैयाँसम्म फ्युल सरचार्ज घटाइएको छ ।, कान्तिपुरमा खबर छ । काठमाडौंबाट सिधा उडान हुने सुगम रुटहरूमा सबैभन्दा धेरै घटेको भाडा दर यही हो भने सबैभन्दा कम काठमाडौंदेखि सिमरा रुटमा ९० रुपैयाँ घटेको छ ।