०४ साउन २०८३, सोमबार

चुनावको प्रभाव भारतीय फिल्ममा– मोदीलाई महान् बनाउनेदेखि मनमोहनको ‘मानहानि’ गर्नेसम्म

पुस २८, २०७५
चुनावको प्रभाव भारतीय फिल्ममा– मोदीलाई महान् बनाउनेदेखि मनमोहनको ‘मानहानि’ गर्नेसम्म

काठमाडौं— भारतमा चुनावको सरगर्मी बढेसँगै चलचित्र उद्योगलाई पनि चुनावको ज्वरो लागेको छ । 

शुक्रवारदेखि प्रसिद्ध राजनीतिकर्मीहरूको जीवनीमा आधारित फिल्महरूको लर्को नै लागेको छ । आमनिर्वाचन आउनै लाग्दा ती फिल्महरू विभिन्न भाषामा रिलिज भएका छन् वा सार्वजनिक हुने क्रममा छन् । 

तर ती फिल्ममा पक्षरहितताको अपेक्षा नगर्नुस् । एकातर्फ ती फिल्मले नेतालाई प्रेरणादायक व्यक्तित्वका रूपमा चित्रित गरेका छन् । अर्कातर्फ भने दी एक्सिडेन्टल प्राइम मिनिस्टर जस्ता फिल्म छन् । पूर्वप्रधानमन्त्री मनमोहन सिंहको जीवनीमा आधारित यो फिल्मविरुद्ध भारतको सर्वोच्च अदालतमा मुद्दा परेको छ । पूर्वप्रधानमन्त्रीको सम्मानलाई हानि गर्ने उद्देश्यले बनाइएको राजनीतिक प्रचारबाजी भएको आरोप लगाउँदै मुद्दा दायर गरिएको हो । 

अनि एनटीआर कथानायकुदु नामक तेलुगु फिल्म पनि शुक्रवार नै सार्वजनिक भएको छ । दुई भागमा बनेको यो फिल्म आन्ध्र प्रदेशका दिवंगत पूर्वमुख्यमन्त्री एनटी रामा रावको जीवनीमा आधारित छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीलाई नायक ठान्नेहरूले उनको जीवनीमा आधारित फिल्म हेर्न पाउने भएका छन् र त्यसमा विवेक ओबरोय मोदीको भूमिकामा छन् । अनि शुक्रवार नै सार्वजनिक भएको फिल्म उरीमा पनि नरेन्द्र मोदीको भूमिका छ ।  

त्यस्तै शिवसेना दलका दिवंगत प्रमुख बाल ठाकरेको जीवनीमा आधारित फिल्म पनि जनवरी महिनाको अन्त्यतिर सार्वजनिक हुन लागेको छ । नवाजुद्दीन सिद्दीकीले ठाकरेको भूमिका निर्वाह गरेका छन् । 

अनि अभिनेता मामूटीले आन्ध्र प्रदेशका अर्का दिवंगत पूर्वमुख्यमन्त्री वाईएस राजशेखरा रेड्डीको भूमिका निर्वाह गरेको फिल्म यात्रा फेब्रुअरी महिनामा सार्वजनिक हुने भएको छ । 

तेलंगानाका मुख्यमन्त्री के चन्द्रशेखर रावमाथिको फिल्मको पनि घोषणा गरिएको छ । उनी हालै प्रचण्ड बहुमतका साथ दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । अनि आन्ध्र प्रदेशमा उनका प्रतिद्वन्द्वी एन चन्द्राबाबु नायडु र तमिलनाडुकी दिवंगत पूर्वमुख्यमन्त्री जे जयललिताका फिल्म पनि बन्ने घोषणा गरिएका छन् । 

फिल्म निर्माताहरूले आमनिर्वाचनको फाइदा उठाउने हिसाबमा यसबेला फिल्म सार्वजनिक गर्न खोजेको भन्ने आरोप नकारेका छन् तर महाराष्ट्र र आन्ध्र प्रदेशमा यसै वर्षको अन्त्यतिर विधानसभा निर्वाचन हुन लागेको छ । 

‘हामी निर्माताहरूले फिल्म सार्वजनिक गर्ने समयको पूर्वयोजना बनाएको जस्तो लाग्दैन,’ सन्दीप सिंहले बताए । उनी मोदीको जीवनीमा आधारित फिल्मका सहनिर्माता हुन् र फिल्मको शीर्षक पीएम नरेन्द्र मोदी राखिएको छ । फिल्मलाई ओमङ कुमारले निर्देशन गर्दैछन् र उनले यसअघि मेरी कोम र सरबजीत जस्ता बायोपिकहरू बनाएका छन् । 

‘हामी सबैले व्यक्तिगत रूपमा कसरी र कहिले आ–आफ्नो फिल्म बनाउने भनी निर्णय गरेका हौं किनकि हामीलाई कथा मन परेको थियो । अहिले राजनीतिक प्रकृतिको हल्लाखल्ला भइरहेको छ र हामी सबैले त्यसलाई प्रत्यक्ष देख्न पाएका छौं त्यसैले यस्ता फिल्महरू एकैचोटि आएको जस्तो देखिन्छ,’ सिंहले थपे । 

दी एक्सिडेन्टल प्राइम मिनिस्टर फिल्मविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको कुरा माथि नै उल्लेख गरिएको छ । यसबारेमा फिल्मका निर्देशक विजय रत्नाकर गुट्टेले कुनै प्रतिक्रिया दिन चाहेनन् । 

तर फिल्म निर्माताका रूपमा आफ्नो काम भनेको कथा बताउनु हो र कुनै पनि राजनीतिक दलको एजेन्डालाई रणनीति नबनाउनु हो भन्ने सिंहको भनाइ छ । 

‘यी पात्रहरू रोचक छन् किनकि हामीहरू एकदमै प्रभावशाली भारतीयहरूको बारेमा कुराकानी गरिरहेका छौं,’ ठाकरे फिल्मका निर्देशक अभिजीत पन्सेले भने । आफ्नो फिल्म दिवंगत शिवसेना प्रमुखप्रतिको श्रद्धाका रूपमा रहेको र यसले एक सामान्य कार्टूनिस्टबाट महान् राजनीतिकर्मीका रूपमा उनले गरेको यात्रालाई वर्णन गरेको पन्सेको भनाइ छ । 

अहिले चुनावकै समय पारेर सार्वजनिक भएका राजनीतिक जीवनीमा आधारित फिल्महरूले जानिँदो नजानिँदो तवरले निर्वाचन परिणाममा असर त पक्कै पार्छन् किनकि भारतमा चलचित्रको प्रभाव ठूलो छ

आफ्नो फिल्म डेढ वर्षअघि घोषणा गरिएको र यसको एक मात्र उद्देश्य जनवरी २३ मा ठाकरेको जन्मजयन्तीको अवसर पारेर रिलिज गर्नु हो, उनले भने । उनको टोलीलाई यति धेरै राजनीतिक जीवनीहरूको योजना बनाइएको थाहै नभएको उनी बताउँछन् । 

‘मलाई लाग्छ, सबै राजनीतिक दलले बलिउड एक गम्भीर कारोबार भएको थाहा पाएका छन् । राजनीति, बलिउड र क्रिकेट हाम्रो देशका सबभन्दा प्रभावशाली वस्तु हुन् । तर ठाकरे बनाउनुमा कुनै एजेन्डा थिएन र यसले राजनीतिक जीवनीको युगको आरम्भ गरेको पनि हैन । अनेकौं जीवनी यसअघि नै बनिसकेका छन् । अहिले यो विषय समाचारमा छाउनुमा मिडिया मात्र एक कारण हो,’ पन्सेले भने । 

‘वास्तवमै (यस फिल्मका विषयमा) जिज्ञासा हुनेछन् र यसले निर्वाचन प्रक्रियालाई मद्दत पनि गर्न सक्छ तर त्यस्तो उद्देश्य वा महत्त्वाकांक्षा यसले लिएको छैन,’ उनले थपे । 

त्यसो त भारतीय जनता पार्टीले आफ्नो आधिकारिक ट्विटर अकाउन्टबाट दी एक्सिडेन्टल प्राइम मिनिस्टरको ट्रेलर शेयर गरेर यो फिल्मलाई इन्डोर्स गरेर राजनीतीकरण गरिसकेको छ ।

बक्स अफिसमा कमाइका अलावा फिल्म निर्माताहरूले सार्वजनिक छलफल र प्रेस कभरेजमार्फत फिल्मको प्रचार गर्न खोजिरहेका छन् । राजनीतिले कसरी विज्ञापनको भव्य रकम दिलाउन सक्छ भन्ने यसले देखाएको छ । ‘यी फिल्महरूले एक निश्चित समयको राजनीतिक भाष्यलाई अघि बढाउने कुरामा कुनै शंका छैन,’ राजनीतिक विश्लेषक मनीषा प्रियमले बताइन् । 

यसअघिको उल्लेखनीय राजनीतिक जीवनीमा आधारित फिल्महरूमा गुलजारको निर्देशनमा बनेको फिल्म आँधी हो जसमा इन्दिरा गान्धीको राजनीतिको थोरबहुत प्रतिबिम्ब रहेको मानिएको थियो । अनि केतन मेहताको निर्देशनमा सरदार वल्लभभाइ पटेलको जीवनीमा आधारित फिल्म सरदार बनेको थियो सन् १९९३ मा र त्यसमा सरदारको भूमिका परेश रावलले निर्वाह गरेका थिए । 

फुलन देवीको जीवनीमा आधारित भै शेखर कपूरले बनाएको फिल्म ब्यान्डिट क्वीनले उनलाई चुनाव जित्न सहयोग गरेको थियो । उनी समाजवादी पार्टीकी सांसद बनेकी थिइन् ।

सन् २०१३ मा आगामी वर्षको चुनावको छेको पारेर मद्रास क्याफे नामक फिल्म सार्वजनिक गरिएको थियो । श्रीलंकाको गृहयुद्ध र राजीव गान्धीको हत्याका विषयमा बनेको उक्त फिल्मले तत्कालीन कांग्रेस सरकारको एजेन्डा बोकेको विश्लेषणहरू भएका थिए भलै कंग्रेसले सन् २०१४ को चुनावमा लज्जास्पद पराजय भोग्नुपरेको थियो । 

अहिले चुनावकै समय पारेर सार्वजनिक भएका राजनीतिक जीवनीमा आधारित फिल्महरूले जानिँदो नजानिँदो तवरले निर्वाचन परिणाममा असर त पक्कै पार्छन् किनकि भारतमा चलचित्रको प्रभाव ठूलो छ । 

लाइभमिन्टमा प्रकाशित लता झाको विश्लेषणमा आधारित

salt training

कमेन्ट गर्नुहोस्