२५ जेठ २०८३, सोमबार

पुनर्निर्माणमा रमाउँदै महिला कामदार

कात्तिक २०, २०७४
पुनर्निर्माणमा रमाउँदै महिला कामदार
प्रशन्न पोखरेल
खोप्लाङ, गोरखा, २५ फागुन –पुरुष कामदारसरह घरको गारो लगाउन पोख्त गोरखाको खोप्लाङ ४ की मनु तामाङलाई आजभोलि फुर्सद छैन । निजी आवास पुनर्निर्माणका लागि अनुदान रकम लिएका गाउँलेहरूले तामाङलाई भेटेर घर निर्माण गरिदिन आग्रह गर्छन् । तामाङले ठेक्का लिएरै चार वटा घर निर्माणको काम गरिरहेकि छिन् । उनलाई श्रीमान् वीरमानले पनि साथ दिएपछि घर पुनःनिर्माणको चाप बढेको हो । उनका श्रीमान वीरमान पनि डकर्मी हुनुहुन्छ ।

विगतदेखि नै मजदुरी गर्दै आइकी तामाङले घरको गारो लगाउने सीप भूकम्पपछि लिएकी हुन् । मजदुरीमा सक्रिय तामाङलाई गाउँलेले नै भूकम्प प्रतिरोधी घर बनाउने तालिम लिने जोहो मिलाइदिएका हुन् । केयर नेपालले दिएको सात दिने तालिम लिएपछि ठेक्का लिएरै घर बनाउने आँट तामाङमा आयो भने गाउँलेले पनि ढुक्क भएर घर बनाउन दिएपछि तामाङ परिवारमा आम्दानी पनि बढेको छ ।

‘निर्माण सामग्री (ढुङ्गा, गिटी, वालुवा, छड, सिमेन्ट, काठ) घरबेटीले जुटाउँछन्, जग खन्ने, गारो लगाउने, प्लास्टर गर्नेदेखि धुरी मार्नेसम्मको काम मेरो नेतृत्वमा गर्छु,’ घर पुनःनिर्माणमा सक्रिय तामाङले भनिन्, ‘पुरुष कामदारले गर्न सक्ने सबै काम महिलाले पनि गर्न सक्छन् । समान ज्याला दिनुपर्छ भन्ने दबाब गाउँलेमा परेको छ ।’ तालिम लिनु पूर्व दिनको ५ सय रुपैयाँ पारिश्रमिक पाउने तामाङले अहिले दैनिक एक हजार रुपैयाँ पारिश्रमिक पाउँदै आएकी छिन् ।

महिनामा कम्तीमा २५ दिन काममा निस्केको बताउँदै तामाङले घर, गृहस्थीको काम थाँती नराखेको बताइन । बिहान, बेलुकी घरको काम गर्दै आएको भन्दै उहाँले तालिम लिएपछि आफू सक्षम कामदार भएको बताइन । उनले दुई लाखदेखि तीन लाख रुपैयाँसम्म लिएर घर निर्माण गर्दै आएकी छिन् ।

तामाङले ठेक्का लिएको घर निर्माणमा पाँच÷सात जना पुरुष कामदार पनि पुनःनिर्माणमा सक्रिय छन् तर उनीहरुले तालिम लिएका छैनन् ।

टोलमै तामाङले मात्रै तालिम लिएको हो भन्दै खोप्लाङस्थित बेलवासका बिजबहादुर कुँवरले तालिम प्राप्त कामदारलाई घर बनाउने ठेक्का सुम्पन पाउँदा ढुक्क भएको बताए । उनले भने, ‘तालिम नलिएका कामदारले पनि घर बनाउन जानेका छन् । तर मापदण्ड अनुसार बनाउँदैनन् । मापदण्ड अनुसार नबनेपछि इञ्जिनियरले घर पास गर्दैनन्, अनुदान पाइँदैन ।’ तामाङले कोलकाटेका इन्द्र भुजेलको घर निर्माण गरिसकेकी छिन् ।

एकपछि अर्को घर निर्माण गरेपछि तामाङलाई काम दिनेहरु बढेका छन् ।
काम सानो, ठूलो नहुने भन्दै तामाङले ‘मजदुरी पेसा गरेको भन्दा खुसी लाग्ने तर गाउँलेहरु केहीले कुल्ली पेसा गरेको भनेको सुन्दा मन दुखेर आउने’ बताइन । काम गरेर गाउँमा राम्रो कामदार बन्ने उहाँको इच्छा छ ।

ठेक्का लिएर घर बनाउन सक्ने भएकामा उहाँका श्रीमान् वीरबहादुर पनि खुसी छन् । ‘मैले घर बनाउने काम गर्दै आएको १५ वर्ष भइसकेको छ,’ उनले भने, ‘श्रीमतीले पनि ठेक्कै लिएर घर बनाउन सुरु गरिन् । म खुसी छु ।’

तामाङले ईंटा, ढुङ्गा, ब्लकको गारो सुर मिलाएर लगाउन सक्छन् । उनले भने, ‘काम समान भएपछि ज्याला पनि समान हुनुपर्छ । महिलालाई पुरुष सरह काम लगाउने, ज्याला आधा दिने गर्न पाइँदैन ।’ यस्तै गाँखु गाविस ७ महटारकी सङ्गीता मग्राती र कोपिला नेपाली पनि तालिम लिएपछि पुनर्निर्माणको काममा घर बनाउन सक्रिय भएर जुटिरहेका छन् ।

दैनिक एक हजारका दरले पारिश्रमिक लिँदै आउनुभएका सङ्गीताले भनिन्, ‘घरको काम सकेपछि दिनभर गफगाफमै रमाइन्थ्यो । तालिम लिएपछि घर बनाउने काम गर्न भ्याइनभ्याइ छ ।’

salt training

कमेन्ट गर्नुहोस्