भक्तपुर, २५ फागुन - सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले योजनाबद्ध ढङ्गले प्रहरी परिचालन गरी सप्तरी घटना घटाएको आरोप आरोप लगाएका छन् ।

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उनले जिम्मेवार मन्त्री र नेकपा एमालेका नेताको योजनामै घटना भएको दाबी गरे ।
यादवले भने , “लोकतन्त्रमा पार्टीलाई आमसभा गर्न पाउने अधिकार छ । त्यसको विरोध गर्ने अधिकार अरुलाई पनि छ, तर विरोध गरेकै नाममा टाउकामा गोली हान्नु गलत हो ।”
आफ्ना शीर्ष नेताको हत्या प्रयास भएको भन्ने एमालेको प्रचार भ्रामक एवम् घटनालाई अन्तै मोड्ने चाल भएको उनले आरोप लगाए ।
स्थानीय संरचनाको टुङ्गो नलगाई स्थानीय तहको निर्वाचन घोषणा गर्नु निर्वाचन नगर्ने षड्यन्त्र भएको उनको भनाइ थियो ।
केन्द्र र प्रदेशको निर्वाचन पछि मात्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने धारणा व्यक्त गर्दै उनले मधेसको सहभागिता बिना नै निर्वाचन गर्छौं भन्नु गलत हो भने । रासस