काठमाडौं, २६ फागुन-प्रिकर्सर रसायन (सिउडोइफेड्रिन) अन्तर्राष्ट्रिय लागूऔषध तस्करलाई बिक्री गरेको आरोपमा मुद्दा दायर भएका पूर्वसभासद् मधुसूदन अग्रवाललगायतलाई मुद्दाबाट उन्मुक्ति दिन सिफारिस गर्ने दुईजना सरकारी वकिललाई सेवाबाट निलम्बन गरिएको खबर आजको राजधानीमा खबर छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उन्मुक्तिका लागि सिफारिस गर्ने काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका तत्कालीन प्रमुख डा. सहन्यायाधिवक्ता टेकनारायण घिमिरे र धादिङ जिल्लाका सरकारी वकिल कार्यालयका प्रमुख अधिवक्ता दयाशंकर अधिकारीलाई निलम्बन गरिएको हो ।
औषधि बनाउन आयात गरेको ३ हजार ५ किलो प्रिकर्सर रसायन (सिउडोइफेड्रिन) अन्तर्राष्ट्रिय लागूऔषध तस्करलाई बिक्री गरेको आरोपमा मुद्दा दायर भएका पूर्वसभासद् अग्रवाललगायतलाई सो मुद्दाबाट उन्मुक्ति दिइएको थियो । अग्रवालको कम्पनीमा कार्यरत भाइ सञ्जय अग्रवाल र षडानन्द शर्मालाई मात्रै मुद्दा चलाएर अरूलाई उन्मुक्ति दिएपछि महान्यायाधिवक्ताको कार्यालयले उनीहरूलाई उन्मुक्ति दिनुपर्ने कारणबारे प्रहरीले बनाएको अभियोग, सरकारी वकिल कार्यालय बनाएको अभियोजन तथा अन्य कागजपत्रहरू मगाएर छानबिन गरिरहेको थियो ।