
काठमाडौं, १ पुस – नेपाल राष्ट्र बैंकको एक तथ्याङ्कले नेपाल पाँच वर्षयताकै सस्तो रहेको देखाएको छ ।
बैंकले सार्वजनिक गरेको ‘चालू आर्थिक वर्ष २०७३/७४(आव)को प्रथम चौमासिक अवधिमा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ ले यस्तो देखाएको हो ।
बैंकले सार्वजनिक गरेको चालू आवको तथ्याङ्क अनुसार चालू आवको कात्तिकसम्ममा वार्षिक विन्दुगत मुद्रास्फीति (महंगी) ४ दशमलव ८ प्रतिशतमा झरेको छ । असोज महिनामा यस्तो मुद्रास्फीति ६ दशमलव ७ प्रतिशत रहेको बैंकले जनाएको छ ।
अघिल्लो वर्ष यस्तो वार्षिक मुद्रास्फीति १० दशमलब ४ प्रतिशत रहेको बैंकको प्रतिवेदनमा उल्लेख छ ।
आव २०७१/७२ को सोही अवधिमा वार्षीक मुद्रास्फीति करीब ७ प्रतिशत थियोे । आव २०७०/७१ र आव २०६९/७० मा भने यस्तो मुद्रास्फीति दर समान अर्थात् करीब १० को हाराहारीमा थियो ।
गत वर्षको तुलनामा समीक्षा अवधिमा खाद्य तथा गैर–खाद्य मुद्रास्फीति दुवैमा सुधार आएकोले समग्र उपभोक्ता मुद्रास्फीति घट्न गएको बैंकको निष्कर्ष छ ।
बैंकका अनुसार समीक्षा अवधिमा खाद्य मुद्रास्फीति २.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति १२ दशमलब १ प्रतिशत थियो ।
खाद्य समूह अन्तर्गत घ्यू तथा तेल र दलहन तथा गेडागुडीको मूल्य घटेको छ भने दुग्धजन्य पदार्थ तथा अण्डा, खाद्य तथा खाद्यजन्य पदार्थ, फलफूल, मासु तथा माछा लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेको छ । यसैका कारण अघिल्लो वर्षको तुलनामा खाद्य मुद्रास्फीति कम रहन गएको बैंकले जनाएको छ ।
त्यस्तै, समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ६ दशमलब ५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर– खाद्य मुद्रास्फीति ९.२ प्रतिशत थियो । यस समूह अन्तर्गतको यातायात तथा सञ्चारको मुद्रास्फीति घटेको छ भने लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा लगायतका वस्तुहरूको मुद्रास्फीति गत वर्षको तुलनामा न्यून रहेको छ ।
काठमाडौं सबैभन्दा सस्तो
बैंकको प्रतिवेदनले काठमाडौं सबैभन्दा सस्तो देखाएको छ । क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा काठमाडौंको उपभोक्ता मुद्रास्फीति ३ प्रतिशत रहेको छ । त्यस्तै, पहाडमा ६ दशमलब २ प्रतिशत, तराईमा ५ दशमलब १ प्रतिशत र हिमालमा ४ प्रतिशत छ ।
अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा ११ दशमलब ४ प्रतिशत, तराईमा ९ दशमलब १ प्रतिशत, हिमालमा ९ दशमलव ६ प्रतिशत र काठमाडौं उपत्यकामा ११ दशमलव ८ प्रतिशत रहेको बैंकले उल्लेख गरेको छ ।
भारतभन्दा १ दशमलब २ प्रतिशत महंगो
बैंकका अनुसार नेपाल भारतभन्दा १ दशमलब प्रतिशतले महंगो छ । २०७३ कात्तिक महिनामा भारतको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३ दशमलब ६ प्रतिशत रहेको छ भने नेपालको मुद्रास्फीति ४ दशमलब ८ प्रतिशत छ ।
अघिल्लो वर्षको सोही अवधिमा नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः १० दशमलब ४ प्रतिशत र ५ दशमलब ४ थियो ।