
काठमाडौं, २६ फागुन– आज बिहीबार मार्च ९, अर्थात विश्व मृगौला दिवस । विश्व स्वास्थ्य संगठनले मार्च ९ लाई बिश्व मृगौला दिवसको रुपमा मनाउने घोषणा गरेसँगै नेपालमा पनि हरेक वर्ष यो दिवस मनाउने गरिएको छ ।
दिवसको यस वर्षको नारा ‘स्वस्थ मृगौलाका लागि स्वस्थ जीवन शैली’ रहेको छ । केही बर्षयता संसारभर मृगौला रोगीहरुको संख्या बढ्दै गएको छ ।
नेपाल लगायतका बिकासोन्मुख मुलुकहरुमा पनि मृगौला रोगीहरुको संख्या बढिरहेको छ । यसै प्रसंगमा हामीले वरिष्ठ मृगौला रोग विशेषज्ञ प्रा.डा.ऋषि काफ्लेसँग कुराकानी गरेका छौं ।
मृगौला कसरी जोगाउने?डाक्टर ऋषि काफ्लेका १७ टिप्स यस्ता छन् ।
१. स्वस्थ तथा रोगी सबै मान्छेले शरीरको ख्याल गर्नुपर्छ । शरीरको ख्याल गर्नु भनेको मृगौलाको पनि ख्याल गर्नु हो । रोग देखिएपनि नदेखिएपनि शरीरको जतन गर्नुपर्छ ।
२. मृगौला स्वस्थ राख्नको लागि कुनै न कुनै प्रकारको व्यायाम गर्नुपर्छ । खेल, योग, बिहानी हिँडाइ लगायतका गतिविधि गरेर व्यायाम पुरा गर्न सकिन्छ । काम गरिरहेको ठाउँबाट उठेर पाँच मिनेट हिँड्यो भने पनि व्यायाम त भइहाल्छ ।
३. एक दिनमा कम्तीमा दुई लिटर पिसाब जानेगरी पानी पिउनुपर्छ । पानी कति खाएँ भन्ने कुरा भन्दा कति पिसाब आयो भन्नेमा ख्याल गर्नुपर्छ । जाडो हुने ठाउँको मान्छेको पिसाब बढी जान्छ, गर्मी हुने ठाउँको मान्छेको पसिनाबाट बढी जान्छ । तर दुई लिटरभन्दा बढी गयो कि गएन भनेर ख्याल गर्नुपर्छ ।
४. हामीले खैनी चुरोटले क्यान्सर मात्रै ल्याउँछ भन्छौं तर यसले अरू स्वास्थ्य समस्या पनि निम्त्याउँछ । मृगौलामा पहिलेदेखि नै समस्या रहेछ भने त्यसले मृगौलामा असर गर्न थाल्छ । प्रेसर, डाइबिटिज लगायतका समस्या बढाउने सम्भावना हुन्छ ।
५. रक्सी शरीरको लागि राम्रो होइन, यो बुझ्दाबुझ्दै पनि मान्छेलाई नखाई भएको छैन । रक्सी सकेसम्म कम पिउने बानीको विकास गर्नुपर्छ ।
६. जथाभावी पेनकिलर खानु हुँदैन । टाउको दुख्यो, पेट दुख्यो, जिउ दुख्यो भनेर मान्छेहरू सिधै पेनकिलर खान्छन् । निरन्तर पेनकिलर खानु भनेको मृगौलालाई असर पार्नु हो । त्यसैले पेनकिलर डाक्टरको सल्ल्लाहमा मात्र खाँदा राम्रो हुन्छ ।
७. मृगौलाको समस्या हुने मान्छेले सिटी स्क्यान गराउनु पनि राम्रो मानिँदैन ।
८. अहिले किड्नी रोग र मोटोपना सँगसँगै जोडिएर आउँछन् । शरीर मोटो हुनु भनेको किड्नीमा असर हुन थाल्नु पनि हो ।
९. खानपिनमा ख्याल गर्नुपर्छ । जे पायो त्यही खाने र जतिबेला पायो त्यति नै बेला खाने बानी गलत हो । साँझको खाना सबैभन्दा धेरै खाने र खाएपछि सुतिहाल्ने गर्दा मोटोपना बढेको छ । त्यसैले कति खाने, कहाँ खाने र कहिले खाने भन्ने कुरा ख्याल गर्नुपर्छ ।
१०. उमेर ढल्किँदै गएपछि चारखुट्टे जनावर (रातो मासु भएका)को मासु खानु हुँदैन । पहिल्यैदेखि नै किड्नीमा समस्या छ भने त चारखुट्टेको मासु खान छोडिहाल्नुपर्छ । उमेर ढल्किँदै जाँदा किड्नी पनि बूढो हुन्छ, त्यसैले किड्नीलाई रातो मासु राम्रो हुँदैन ।
११. सुत्ने समयमा एकरूपता हुनुपर्छ । भद्रगोल दैनिकी भएको मान्छेमा किड्नीको समस्या आउन सक्छ । कति बजे सुत्ने, कति बजे उठ्ने र दैनिक कति समय व्यायाम गर्ने भन्ने कुरा ख्याल गर्नुपर्छ ।
१२. जनसंख्याको १० प्रतिशतमा मृगौलाको समस्या छ । ३० लाख मान्छे नेपालमा मृगौलाको समस्याबाट पीडित छन् । त्यसमध्ये तीन लाख मान्छेको मृगौला बढी नै बिग्रिएको हुन्छ । त्यसमध्ये तीस हजार मान्छेको मृगौला नराम्रोसँग बिग्रिएको हुन्छ । वार्षिक तीन हजार मान्छेको मृगौलाले काम गर्न छोडेको हुन्छ । यो भनेको वार्षिक तीन हजार मान्छे मृगौला रोगबाट मरिरहेको छ भन्ने हो । त्यसले समस्या आउनेबित्तिकै उपचार गर्नु राम्रो हुन्छ । अन्तिम समयमा मृगौलाको उपचार हुँदैन ।
१३. स्वस्थ जीवनशैली छ भन्दैमा मृगौला बिग्रिएको छैन भन्ने ग्यारेन्टी हुँदैन । एक वर्षमा एकपटक मृगौला जाँच गर्नुपर्छ । ३० वर्ष उमेर काटेकोले नियमित गर्नुपर्छ । तर ३० वर्षभन्दा कम उमेरको मान्छे चाहिँ मृगौलामा समस्या आयो भने मात्रै गर्दा हुन्छ । मृगौला चेक गराउँदा रगतमा क्रियाटिनिन भन्ने तत्त्व छ कि छैन ख्याल गर्नुपर्छ । पिसाबमा चाहिँ प्रोटीन छ कि छैन ख्याल गर्नुपर्छ । यी तत्त्वहरू भएमा मृगौला बिग्रन थाल्यो भनेर जान्नुपर्छ ।
१४. मृगौलामा रोग लाग्नेबित्तिकै लक्षण देखिँदैन । त्यसैले मृगौला जाँच गरेको राम्रो हुन्छ । मृगौला धेरै नै बिग्रिएको अवस्थामा अस्पताल पुग्दा उपचारमा समस्या हुन्छ ।
१५. खासगरी उच्च रक्तचाप, मधुमेह, डाइबिटिज, निरन्तर पेनकिलर खानुपर्ने बिरामी र ३० वर्ष उमेर काटेका मान्छेमा मृगौला रोगको जोखिम हुने भएकोले उनीहरूले वर्षमा एकपटक जाँच गर्नुपर्छ ।
१६. तौल बढी हुँदा पनि मृगौलाको समस्या आउँछ । उँचाइ अनुसार तौल हुनुपर्छ । यसलाई बीएमआई भनिन्छ । उँचाइलाई तौलको रुटले भाग गर्दा आउने संख्या २५ भन्दा बढी भयो भने शरीरमा मोटोपना छ भन्ने बुझिन्छ ।
१७. किड्नी बिग्रनु भनेको तोरीका फूला देख्नु हो । किड्नी बिग्र्यो भने थुप्रै समस्या आइलाग्छन् । जबसम्म परीक्षण गरिँदैन, त्यसबेलासम्म किड्नी बिग्रियो भन्ने कुरा थाहा हुँदैन । २० वर्ष उमेर काटेपछि कोही व्यक्तिमा जन्मजात समस्याको कारण मृगौलामा फोका देखिन थाल्छ । यो समस्या चाहिँ एक्सरे गरेर मात्रै पत्ता लगाउन सकिन्छ । समग्रमा स्वस्थ जीवनशैली भयो भने मृगौला स्वस्थ हुन्छ ।
(डा. काफ्लेसँग लोकान्तरका लागि विशाल भट्टराईले गरेको कुराकानीमा आधारित)