काठमाडौं– शनिबारबाट चलचित्र ‘गोपी’को प्रचार–प्रसारमा निस्किएका अभिनेता बिपिन कार्कीले चितवनमा साँच्चिकैका गोपी भेटेका छन् ।
विपिनले चलचित्रको प्रचारका क्रममा चलचित्रमा झैं गाईपालन ब्यवसाय गर्ने गोपी ढकाललाई भेटेका हुन् । बिपिनले चितवनको ठूलो गड्डीस्थित गोपी ढकालको ढकाल गाई फार्म पनि भिजिट गर्दै उनको ब्यवसायका बारेमा भलाकुसारी गरेका थिए ।
२०५० सालदेखि चितवनमा गाई पालन गर्दै आएका गोपी ढकालले चलचित्रको पोस्टर र ट्रेलरले आफ्नै कथा भनेको महसुस भएपछि चलचित्रको टिमसँग भेट्न मन लागेको बताए ।
‘छोरा भाइले पहिला चलचित्रको पोस्टर देखाए । आफ्नो नाम र गाई देखेपछि के हो भन्ने भयो । पछि ट्रेलर पनि देखेपछि त कसरी मेरै कथामा चिलचित्र बनाएछन् भन्ने लाग्यो । आज उहाँहरुसँग भेटेर उहाँहरुको कुरा सुनेपछि त झनै आफ्नै कथामा चलचित्र बनेको रहेछ जस्तो लागेको छ,’ गोपीले भने, –‘मैले त आजसम्म हल टेकेको छैन । पहिलोपटक आफ्नै नाम र कथामा बनेको चलचित्र हेर्नेछु ।’
अभिनेता बिपिन कार्कीले ‘गोपी’को सुटिङको समयमा नै यस्ता थुप्रै पात्र भेटेका छन् जसले चलचित्रको कथा आफ्नै जस्तो लाग्यो भन्ने गरेका छन् । ट्रेलर सार्वजनिक भएपछि त यस्तो प्रतिक्रिया दिने बाक्लै छन् । ‘तर, उहाँको त नाम मात्र हैन, गाई पाल्ने कथा पनि चलचित्रको जस्तै रहेछ । संर्घष पनि चलचित्रको जस्तै लाग्यो, अभिनेता बिपिनले भने, –‘तर, यो चलचित्रको विशेषता नै यही हो । चलचित्र हेरिसक्दा गाई पाल्नेले मात्र होइन जुनसुकै ब्यवसाय गर्नेले पनि आफ्नै कथा महशुस गर्नेछन्।’
बिपिनले गोपीको ढकाल गाईफर्मको अवलोकन गर्दै चलचित्रले उनिजस्ता कृषकलाई हौसला दिने बताएका थिए भने ढकालले आफ्नो फार्ममा सयभन्दा बढी गाई रहेको र दिनको ८ सय लिटर दुध उत्पादन गर्ने जानकारी गराएका थिए ।
चलचित्रको प्रचारका लागि चितवन पुगेको ‘गोपी’को टिममा बिपिनबाहेक वर्षा राउत, लेखक सामीप्यराज तिमल्सेना र कार्यकारी निर्माता श्रीधर पौडेल रहेका छन् । शनिबार नै पत्रकारसँग अन्तक्र्रियासमेत गरेको टिमले चलचित्रले देशमै केही गर्न सकिने सम्भावनालाई प्रस्तुतिको माध्यम बनाएको जानकारी गराएको थियो ।
अभिनेत्री वर्षा राउतले पनि स्वावलम्बन र स्वरोजगारको विषयलाई मुखरित गरेको चलचित्रले मनोरञ्जनसँगै युवालाई देशमै केही गर्न प्रेरित गर्ने बताइन् । ‘हाम्रो पहिलो उद्देश्य मनोरञ्जन दिनु नै हो । तर, यो चलचित्रले आफ्नै विषय र शैलीमा यसलाई पस्कने जमर्को गरेको छ, उनले भनिन्, –‘चलचित्रले नेपालमा केही गरिरहेकालाई त हौसला दिन्छ नै, नगरेकालाई पनि केही गर्न आँट दिन्छ ।’
माघ १८ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा बिपिन र वर्षाका अलावा सुरक्षा पन्त, प्रकाश घिमिरे, भोला सापकोटा, अंकित खड्का, हिउँवाला गौतम आदिको अभिनय रहेको छ । दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको चलचित्रलाई सामीप्यराज तिमल्सेनाले लेखेका हुन् । आरोही केसीको निर्माण रहेको चलचित्रमा श्रीधर पौडेल कार्यकारी निर्माता रहेका छन् ।