काठमाडौं — बेलायतको प्रभावशाली दैनिक पत्रिका द टेलिग्राफले विश्वका सुन्दर मुद्राहरूको फोटो फिचर तयार पारेको छ ।
उक्त पत्रिकाको अनलाइन संस्करणमा फागुन २४ गते
प्रकाशित फोटो फिचरमा नेपालका तीनवटा रुपैयाँका नोट र एउटा सिक्का समावेश छ ।

दुई रुपैयाँको सिक्कामा एक मान्छेले गोरुले खेत जोतेको चित्र अंकित छ । तर पत्रिकामा चाहिँ राँगोले जोतेको लेखिएको छ । अनि सिक्कालाई लहडी (ह्विमजिकल) भनिएको छ ।

त्यस्तै एक रुपैयाँको नीलो नोट पनि फिचरमा परेको छ । दुईवटा मृग कुदिरहेको चित्र भएको नोटमा प्रयोग गरिएको रंगको सरलताको प्रशंसा गरिएको छ ।

पाँच रुपैयाँको नोटलाई पनि यहाँ समावेश गरिएको छ । दुईवटा याक भएको नोटमा जनावरको महत्त्व झल्किएको उल्लेख छ ।

अनि पाँच सय रुपैयाँको नोटको पनि उल्लेख गरिएको छ । दुईवटा बाघको मिहिन चित्र भएको सुन्दर नोट भनी प्रशंसा गरिएको छ ।
फोटो फिचरमा नेपालका अतिरिक्त युगाण्डा, सामोआ, नामिबिया, फ्रान्स, इजिप्ट लगायतका देशको मुद्राको पनि चर्चा गरिएको छ ।