
प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्च(वर्ल्ड इकोनोमिक फोरम)को ४९ औं वार्षीक सभामा भाग लिन आइतबार स्विजरल्याण्डको डाभोस प्रस्थान गर्ने कार्यक्रम रहेको छ । जनवरी २२ देखि २५ सम्म स्विजरल्याण्डको सुन्दर पर्यटकीयस्थल डाभोसमा हुने मञ्चमा सहभागी हुनका लागि प्रधानमन्त्रीका साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अर्थमन्त्री युवराज खतिवडा पनि सहभागी हुँदैछन् । प्रधानमन्त्री जनवरी २६ मा फर्किने परराष्ट्रमन्त्रालयले जनाएको छ ।
के हो विश्व आर्थिक मञ्च ?
विश्व आर्थिक मन्च एक गैरनाफामूलक संस्था हो । यसले वार्षिक रूपमा स्विजरल्याण्डको ‘मोडर्न डेविस कंग्रेस सेन्टर’मा बैठक आयोजना गर्ने गर्दछ । हरेक वार्षीक बैठकमा फरक फरक मुद्दाहरूमा छलफल हुने गर्दछन् । विश्व आर्थिक मञ्चले अफ्रिका, पूर्वी एसिया, ल्याटिन अमेरिकामा रहेका क्षेत्रीय कार्यालयमा हरेक वर्ष क्षेत्रीय सम्मेलन पनि गर्ने गर्छ । यसका साथै चीन र युएईमा थप दुई वार्षिक बैठकको आयोजना हुने गर्दछ ।
छलफलमा केमा केन्द्रित हुनेछ ?
विश्व आर्थिक मञ्चको वार्षीक बैठकको मुख्य विषयवस्तु ‘चौथो चरणको विश्वव्यापीकरणः चौथो औद्योगिक क्रान्तिको युगमा विश्वको आर्किटेक्चर निर्माण’ हो । चौथो चरणको विश्वव्यापीकरण अन्तर्गत ६ वटा आयामहरूमा छलफल हुनेछ । भूराजनीति, अर्थतन्त्रको भविष्य, औद्योगिक प्रणाली तथा प्रविधि नीति, प्रणालीगत सोच प्रवर्द्धनका लागि जिखिमको लचकता, मानवपूँजी र समाज, विश्वव्यापी संस्थागत सुधार जस्ता महत्त्वपूर्ण विषयमा छलफल हुने जनाइएको छ ।
को को हुँदैछन् सहभागी ?
छलफलमा २५०० भन्दा बढीको सहभागिता रहने ‘वर्ल्ड इकोनोमिक फोरम’ ले जनाएको छ । त्यसमध्ये तीव्रतर आर्थिक प्रगति गरिरहेको जापानका प्रधानमन्त्री सिन्जो आवे, जर्मनीकी चान्सलर एन्जेला मर्केल, बेलायतका राजकुमार विलियम मुख्य आकर्षणका केन्द्र बन्नेछन् ।
त्यसबाहेक छलफलमा न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्दा आर्डन, विश्वप्रसिद्ध पकृतिविद सर डेभिड एटेनबोरोउघ, स्विजरल्याण्डका राष्ट्रपति उएली मौरार, ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो, चीनका उपराष्ट्रपति वाङ क्विसान, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज, इराकका राष्ट्रपति बर्हम सलिह, अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, रुवान्डाका राष्ट्रपति पाउल कागामी, दक्षिण अफ्रिकाका राष्ट्रपति स्रिल एम रामाफोसा, भियतनामका प्रधानमन्त्री गुयन जुआन फुक र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लगायतको उपस्थिति रहनेछ ।
नेपाल कसैले वास्ता नगर्ने देश रहेन–प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व आर्थिक मञ्चमा नेपाललाई निमन्त्रणा दिनु उपलव्धि भएको बताए । शुक्रवार संसदमा बोल्दै प्रधानमन्त्री ओलीले स्वीटजरल्याण्डको डाभोसमा हुन लागेको विश्व आर्थिक मञ्चको कार्यक्रममा नेपाल पहिलो पटक सहभागी हुन लागेको र यो नेपालको सफता भएको दाबी गरेका थिए ।
‘हामीले पाएको सफतामा दुनियाको चासो मात्र होइन, हामीले गरेको द्वन्द्व व्यवस्थापनलाई अत्यन्तै सकारात्कम रुपमा लिएका छन्’ संसदमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले भनेका थिए,‘कसैले वास्ता नगर्ने देशको रुपमा अब नेपाल छैन, नेपाल पनि विश्व मानचित्रमा एउटा उल्लेख देशको रुपमा उभिन लागेको छ ।’
यो मञ्च विकास र लगानी जस्ता आर्थिक गतिविधिमा केन्द्रीत हुँदै विश्वको राजनीति र अर्थतन्त्र आदी विषयहरुको सम्बन्धमा चिन्तन मनन गर्ने महत्वपूर्ण संवाद सञ्जालको थलो भएको प्रधानमन्त्रीको भनाइ थियो । यो फोरममा कुनै सम्झौता नहुने भएपनि कालान्तरमा नेपालले यसबाट लाभ लिनसक्ने प्रधानमन्त्रीको भनाइ थियो ।
‘नेपाललाई निम्तो दिएर नेपालप्रति रुची र आकर्षण देखाइयो’ – परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली नेपाल विश्वभरीको आकर्षणको केन्द्र बन्दै गइरहेको बताउँछन् । यो सम्मेलन विश्वका राष्ट्रप्रमुख, सरकारप्रमुख, व्यावसायिक जगतका अग्रज, अर्थशास्त्री तथा नागरिक अगुवाहरू सहभागी हुने सम्मेलन भएकाले आर्थिक वहावहरूलाई निकै गहिरो प्रभाव पार्ने ज्ञवालीको भनाइ छ ।
ज्ञवालीले भने, ‘विश्वव्यापारमा जुन खालका आर्थिक सङ्कट देखिएको छ, त्यस्तो अवस्थामा नेपालजस्तो अल्पविकसित र भपूरिवेष्ठित मुलुकको तर्फबाट आर्थिक सङ्कट र लिनुपर्ने बाटोका बारेमा बैठकमा धारणा राख्छौं ।’
नेपालमा अहिले जतिपनि मल्टिनेशनलले काम गरिरहेका छन्, उनीहरूले मनग्य मुनाफा कमाएका छन्, ज्ञवाली भन्छन, ‘चाहे स्ट्याडर्ड बैङ्कको कुरा गर्नुस्, सूर्य नेपाल, युनिलिभर, एनसेल कम्पनीको कुरा गर्नुस् जति पनि वैदेशिक लगानी गरेका छन्, राम्रो आम्दानी गरेका छन्, यो पनि एउटा सूचक हो ।’ यसले नेपालमा विदेशी लगानीको अनुकुल वातावरण छ भन्ने सन्देश दिन्छ ।
‘नेपालमा युवा जनशक्ति ठूलो छ, कामको व्यग्रतामा छन, जतिसुकै मिहिनेत गर्न तयार छ,’ ज्ञवाली भन्छन्, ‘त्यसलाई लक्षित गरेर विदेशी लगानीकर्ताले काम गर्नुपर्छ । कनेक्टिभिटी पनि हामीले बढाइरहेका छौं । छिमेकी मुलुकहरू विशाल बजारका रुपमा छन् । त्यसबारेमा पनि हामीले विश्व आर्थिक मन्चमा जानकारी गराउँछौं ।’
यस्ता फोरमहरूलाई आफ्नो पक्षमा भरपुर प्रयोग गर्नुपर्छ – टंक कार्की, परराष्ट्रविद्
परराष्ट्रविद् टंक कार्कीले नेपालले यस्ता आर्थिक फोरमहरूलाई नेपालले सदुपयोग गर्नुपर्ने बताउँछन् । ‘नेपालको वृहत्तर आर्थिक विकासका लागि वैदेशिक लगानी अपरिहार्य छ,’ लोकान्तरसँग कुरा गर्दै कार्कीले भने, ‘विश्वभर आयोजना हुने यस्ता मञ्चमा भाग लिँदा नेपालको उपस्थिति विश्व समुदायको चासो बन्न सक्छ र नेपालको अन्तर्रा्ष्ट्रिय हैसियत बढ्नुका साथै लगानीकर्ताहरूको नेपालप्रतिको चासो बढ्छ ।’