
काठमाडौं – मेलम्ची खानेपानी योजना निर्माणको काम अलपत्र पारेर स्वदेश फर्किएको इटालियन ठेकेदार कम्पनी सिएमसी लामो सयमसम्म नफर्केपछि सरकारले उसको नाममा पत्र पठाएको छ ।
दुई साताको अल्टिमेटम दिँदै मेलम्ची खानेपानी विकास परियोजनाले सीएमसीको नाममा आइतवार पत्र पठाएको हो ।
खानेपानी तथा सरसफाई मन्त्रालयका प्रवक्ता शंकर सुवेदीले मेलम्ची खानेपानी योजनाले सीएमसीलाई १४ दिन भित्र फर्कन आग्रह गर्दै पत्र पठाएको जानकारी दिए ।
‘बल्ल मेलम्चीले आज सीएमसीको नाममा पत्र पठाएको छ,’ प्रवक्ता सुवेदीले लोकान्तरसँग भने, ‘१४ दिनभित्र काममा नफर्किए ऊसँगको ठेक्का प्रक्रिया रद्द हुन्छ र नयाँ ठेक्काका लागि सरकारले निर्णय गर्छ ।’
आयोजनामा थोरै मात्र काम बाँकी रहेको भनिएका बेला काम छाडेर सीएमसीका प्रतिनिधि भाग्न खोजेका थिए ।
त्यसपछि मेलम्ची खानेपानी योजना र खानेपानी मन्त्रालयको आग्रहमा नेपाल प्रहरीले सीएमसीका प्रतिनिधिलाई पक्राउ गरी खानेपानी मन्त्रालयको जिम्मा लाएको थियो ।
क्रिसमस र नयाँ वर्ष मनाउन भन्दै सहमतिमै इटाली गएको टोली अझै फर्किएको छैन ।