
काठमाडौं – सुरक्षा बलहरूले सुडानमा विरोध प्रदर्शनकर्ताहरूमाथि अश्रूग्यास प्रहार गरेका छन् । राष्ट्रपति ओमार अल–बशीरको विरोध दोस्रो महिनामा प्रवेश गरेको छ ।
आइतवार राष्ट्रपति बशीरले विदेशी एजेन्ट र डार्फुर क्षेत्रका विद्रोहीहरूले विरोधलाई मलजल गरिरहेको दाबी दोहो–याए ।
अधिकारीहरूका अनुसार, २६ जना विरोधका क्रममा मरेका छन् । तर अधिकारवादी समूहहरूले ४० भन्दा बढी मानिस मारिएको बताएका छन् ।
सुडानको आर्थिक समस्या डिसेम्बर महिनादेखि शुरू भएको हो र यो अहिले बशीरको ३० वर्षे शासनमाथिको क्रोधमा परिणत भएको छ ।
आइतवार राजधानीमा दिएको सम्बोधनमा राष्ट्रपतिले हत्याहरूमा घुसपैठियाहरू दोषी रहेको बताए ।
‘विरोधकर्ताहरूमाझ केही मानिस छन् जसले प्रदर्शनकारीलाई मारिरहेका छन्,’ उनले भने ।
सयौं प्रदर्शनकारीहरू राजधानी खार्तूमको जुम्ल्याहा शहर ओमडरमनमा रहेको संसद् भवनतिर जुलुस लिएर गए ।
उनीहरूले राष्ट्रपति बशीरले राजीनामा दिनुपर्ने मागसहितको निवेदन हस्तान्तरण गर्न खोजेका थिए अनि स्वतन्त्रता, शान्ति र न्यायको नारा उराल्दै आन्दोलनको प्रमुख नारा हटाऊ हटाऊ पनि भनिरहेका थिए ।
बीबीसीबाट