०१ असार २०८३, सोमबार

कैलालीमा युवक हत्या प्रकरणमा ४ जना पक्राउ

माघ ७, २०७५
कैलालीमा युवक हत्या प्रकरणमा ४ जना पक्राउ

धनगढी – कैलालीको गोदावरी नगरपालिका–२ मा १ युवक हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

नगरपालिकाको वडा नम्बर १ का २० वर्षीय अरुण भट्टलाई माघ ५ गते धरिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले १ मुख्य, ३ सहयोगीसहित गरी ४ जनालाई सोमवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२ शिवशक्ति टोलका २१ वर्षीय विनोद ऐर रहेका छन् । उनले मृतक भट्टलाई धरिलो हतियार प्रहार गरी हत्या गरेको कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले जानकारी दिए ।

मुख्य अभियुक्तलाई मोटरसाइकलमा राखी भगाउने धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका २२ वर्षीय डेबिटसिंह ऐर, आफ्नो डेरामा लुकाउने भजनी नगरपालिका–२ घर भई हाल धनगढी–२ बस्ने २१ वर्षीया मञ्जु चौधरी खड्का र धनगढी–१३ शिवटोलका २१ वर्षीय लोकेश खत्री पक्राउ परेका छन् ।

खत्रीले पनि आफ्नो डेरामा मुख्य अभियुक्तलाई लुकाएको प्रहरीले जनाएको छ । अभियुक्तबाट प्रहरीले से४प ५९२८ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतक भट्ट र साथीहरू हरि राई र राजेश नेपालीसँग विगतमा विवाद हुँदै आएको थियो । सोही कारण माघ ५ गते अत्तरियामा चलिरहेको सुदूरपश्चिम प्रादेशिक महोत्सव समाप्त हुने वित्तीकै हानाहानको अवस्था सिर्जना भएको जनाइएको छ । भट्टको उपचारको लागि धनगढीस्थित सेती अञ्चल अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो । प्रहरीले थप अनुसन्धान जारी रहेको समेत जनाएको छ ।

पक्राउ परेका अभियुक्तलाई मुलुकी फौजदारी अपराध संहिताको दफा १७७ बमोजिम जन्मकैद र भगाउनमा सहयोग गर्नेलाई दफा ३६ बमोजिम अभियुक्तलाई हुने सजायको आधा सजाय संगै मृतकलाई दफा १८६ बमोजिम क्षतिपूर्ति भराउने व्यवस्था रहेको छ ।

युवकको हत्यापछि आयोजित प्रादेशिक महोत्सव प्रभावित बनेको छ भने अत्तरिया बजार बन्द समेत गराइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्