०७ साउन २०८३, बिहीबार

बंगलादेशको लोभलाग्दो प्रगति : नेपालका लागि पाठ

माघ ७, २०७५
बंगलादेशको लोभलाग्दो प्रगति : नेपालका लागि पाठ

काठमाडौं – दक्षिण एसियाको सबभन्दा कान्छो मुलुक बंगलादेशले विगत एक दशकमा उल्लेखनीय आर्थिक प्रगति हासिल गरेको छ । तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा यो प्रगतिको खासै चर्चा भएको पाइँदैन । 
समृद्धिको बाटोमा लम्केको नेपालले बंगलादेशको आर्थिक विकासबाट सिक्न सक्ने अनेकौं पाठ छन् । 

उत्पादनको क्षेत्रमा बंगलादेशले तीव्र प्रगति गरिरहेको देखिन्छ । लत्ताकपडा उद्योगको कुरा गर्दा बंगलादेश अहिले विश्वमा चीनपछि दोस्रो स्थानमा रहेको छ । 

एक दशकको मात्र कुरा गर्ने हो भने पनि बंगलादेशको अर्थतन्त्र औसत ६ प्रतिशतको वार्षिक दरले बढिरहेको छ । ऊ खाद्य उत्पादनमा पूर्णतः आत्मनिर्भर भइसकेको छ । अनि सन् २००९ देखि यता बंगलादेशमा प्रतिव्यक्ति आय तीन गुणा बढेको छ । 

सन् २०१८ मा बंगलादेशको प्रतिव्यक्ति आय १७ सय ५० डलर पुगेको छ । त्यसो त बंगलादेशमा अझै पनि ठूलो संख्यामा मानिसहरू गरीब छन् । तर विश्व बैंकले जारी गरेको आँकडा अनुसार, १० वर्षअघि दिनको जम्मा १.२५ डलरमा जीवन गुजार्ने १९ प्रतिशत मानिस रहेकोमा अहिले त्यो ९ प्रतिशतमा झरेको छ । 

इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले बंगलादेश सन् २०१९ मा ७.९ प्रतिशतको दरमा आर्थिक प्रगति गर्ने प्रक्षेपण गरेको छ । विश्व अर्थतन्त्र सुस्ताएको अवस्थामा बंगलादेशको यो विकास गति उल्लेख्य ठहर्छ । 
डिसेम्बरको अन्तिमतिर सम्पन्न आमनिर्वाचनमा प्रचण्ड बहुमत ल्याएर शेख हसीना वाजेद तेस्रोपटक बंगलादेशको प्रधानमन्त्री बनेकी छन् । हसीनाको सबल नेतृत्वमा बंगलादेश विगत केही वर्षयता एसियाको सबभन्दा सफल देश बनेको हो । 

राजनीतिक विभाजनको इतिहास कायमै रहँदा अस्थिरताको समयबाट लामो समय गुज्रिएको बंगलादेशमा विगत एक दशकमा शेख हसीनाको एकछत्र शासन चल्दा आर्थिक प्रगति सम्भव भएको हो

तर शेख हसीनाको जीतलाई गैरसरकारी पर्यवेक्षकहरूले धोकाधडीपूर्ण भन्ने संज्ञा दिएका छन् । उनको अवामी लीग दलले कुल ३०० सीटमध्ये २८८ सीटमा विजय हासिल गर्दा चुनावी गडबडीको आशंका प्रबल बनेको छ । शेख हसीनामाथि निरंकुश शासन चलाएको आरोप छ ।

हुन पनि चुनावअघि विपक्षीहरूलाई दमन गरिएको देखिन्छ । विपक्षी नेता तथा कार्यकर्ताहरूमाथि लगभग तीन लाखवटा मुद्दा दायर गरिएका थिए । 

त्यसो त प्रधानमन्त्री शेख हसीना अनि विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टीकी नेत्री बेगम खालिदा जियाबीचको तीतो द्वन्द्वले पनि बंगलादेशलाई लामो समयसम्म आक्रान्त बनायो । जिया अहिले भ्रष्टाचारको मुद्दा खेपेर जेलमा बन्द छिन् र उनले शेख हसीनाको विजय अवैध रहेको बताइरहेकी छन् । 

शेख हसीना र बेगल खालिदाको राजनीतिक दृष्टिकोणमा रहेको भिन्नताले पनि बंगलादेशमा ध्रुवीकरण गरेको भन्न सकिन्छ । हसीनाले धर्मनिरपेक्ष राष्ट्रवादी राजनीतिक दर्शन अपनाएकी छन् भने जिया र उनको दलले इस्लामिक राष्ट्रवाद अपनाएका छन् । जियाको दलको प्रोत्साहनमा बंगलादेशमा हालैका दिनमा इस्लामी अतिवादले टाउको उठाएको छ । सन् २०१६ को जुलाई महिनामा ढाकाको एक रेस्टुराँमा भएको आतंकवादी आक्रमणमा २९ जनाको हत्या गरिएको थियो । अनि धर्मनिरपेक्षता समर्थक ब्लगरहरूको पनि हत्या भएको छ ।

राजनीतिक विभाजनको इतिहास कायमै रहँदा अस्थिरताको समयबाट लामो समय गुज्रिएको बंगलादेशमा विगत एक दशकमा शेख हसीनाको एकछत्र शासन चल्दा आर्थिक प्रगति सम्भव भएको हो । 

वर्ल्ड इकोनोमिक फोरमको वेबसाइटमा बंगलादेशको आर्थिक प्रगतिका कारणहरू केलाइएका छन् । त्यहाँ लेखिएअनुसार, बंगलादेशको आर्थिक परिवर्तनलाई सामाजिक परिवर्तनहरूले डोहोर्‍याएका छन् । महिला सशक्तीकरण त्यसको प्रारम्भिक विन्दु हो । 

ग्रामीण बैंक र बीआरएसी जस्ता संस्था अनि सरकार आफैंको प्रयासमा बंगलादेशले बालिका शिक्षामा उल्लेख्य प्रगति गरेको छ र महिलाहरूलाई सार्वजनिक स्थलमा थप आवाज उठाउने अवसर उपलब्ध गराएको छ । यी प्रयासहरूले बालबालिकाको शिक्षा र स्वास्थ्यमा सुधार ल्याएको छ र औसत आयु बढाएर ७२ पुर्‍याएको छ । 

त्यसबाहेक बंगलादेश सरकारले आर्थिक समावेशितामा धरातलीय पहलहरूलाई प्रोत्साहन गरेकोलाई पनि वर्ल्ड इकोनोमिक फोरमले निकै सराहना गरेको छ । उसले विश्व बैंकको आँकडालाई उद्धृत गर्दै लेखेअनुसार, बंगलादेशमा बैंक खाता भएका मानिसमध्ये ३४.१ प्रतिशतले डिजिटल कारोबार गरेका थिए र दक्षिण एसियामा यो औसत जम्मा २७.८ प्रतिशत छ । 

बंगलादेशको जनसंख्या १.१ प्रतिशत दरमा प्रतिवर्ष बढिरहेको छ । त्यसैअनुरूप प्रतिव्यक्ति आय पनि तीव्र गतिमा बढिरहेको छ । 

नेपालको कुल गार्हस्थ्य उत्पादनमा विप्रेषणको योगदान २६.९ प्रतिशत रहेको २०७४–७५ को आँकडा छ । बंगलादेशले जस्तै विप्रेषणलाई व्यवस्थित गर्नका लागि डिजिटलाइजेसनको प्रवर्द्धनमा नेपालले जोड दिनु हितकारी हुन सक्छ

सानो भूगोलमा ठूलो जनसंख्या भएको मुलुकका रूपमा बंगलादेश प्रसिद्ध छ । त्यहाँको जनसंख्या एकदमै सघन छ । बंगलादेश बैंकका प्रमुख अर्थशास्त्री फैसल अहमदले ठूलो जनसंख्या देशको प्रगतिका लागि लाभकारी रहेको बताएका छन् । सघन जनसंख्याका कारण सामाजिक र आर्थिक विचारधारालाई धरातलमा कार्यान्वयन गर्न सहज हुने उनको भनाइ विभिन्न अन्तर्वार्तामा पढ्न पाइन्छ । 

निक्केई एसियन रिभ्युमा ग्वेन रोबिन्सनको विश्लेषणअनुसार, लगभग २५ लाख बंगलादेशीहरू विदेशी कामदारका रूपमा काम गरिरहेका छन् र उनीहरूले पठाएको विप्रेषणले पनि अर्थतन्त्र उकास्न मद्दत गरेको छ । सन् २०१८ मा विप्रेषण १५ अर्ब डलरभन्दा बढी रह्यो । तर विप्रेषणमा आधारित अर्थतन्त्रको भविष्य दिगो नहुने भएकाले प्रधानमन्त्री हसीनाले औद्योगिक प्रगति गर्नुपर्ने मान्यता राखेकी छन् । राजनीतिक तथा व्यापारिक नेताहरूले विप्रेषण र अन्तर्राष्ट्रिय सहायतामा आधारित कम लागतको उत्पादन गर्ने केन्द्रबाट प्रगति गर्ने हसीनाको महत्त्वाकांक्षालाई समर्थन गरेका छन् । 

ग्वेन रोबिन्सन लेख्छन्, ‘त्यो प्रगति हासिल गर्नका लागि हसीनाले सन् २००९ मा डिजिटल बंगलादेश रणनीति आरम्भ गरेकी थिइन् र त्यसमा प्रशस्त लगानी गरेकी थिइन् । राजधानी ढाकामा अहिले सूचना प्रविधिको क्षेत्रमा तीव्र गतिमा वृद्धि भइरहेको छ । अनि औषधि उत्पादनको क्षेत्रमा पनि क्रमिक वृद्धि भइरहेको छ ।’ 

नेपालको कुल गार्हस्थ्य उत्पादनमा विप्रेषणको योगदान २६.९ प्रतिशत रहेको २०७४–७५ को आँकडा छ । बंगलादेशले जस्तै विप्रेषणलाई व्यवस्थित गर्नका लागि डिजिटलाइजेसनको प्रवर्द्धनमा नेपालले जोड दिनु हितकारी हुन सक्छ ।  

विकासको गति बढ्दै जाँदा बंगलादेशलाई संयुक्त राष्ट्रसंघले अल्पविकसित देशको श्रेणीबाट उकासेर सन् २०२४ मा विकासशील देशको पंक्तिमा राख्ने कुरा गत वर्ष झिकेको थियो । अल्पविकसित श्रेणीबाट बाहिर निस्कँदा बंगलादेशको आत्मविश्वास ह्वात्तै बढ्नेछ । 

शेख हसीनाले डिसेम्बर २०१८ मा निक्केई एसियन रिभ्युसँगको एक अन्तर्वार्तामा भनेकी पनि थिइन्, ‘देश अल्पविकसितको तल्लो दर्जामा हुँदा विभिन्न परियोजना तथा कार्यक्रममा कुराकानी पनि शर्तका हिसाबमा हुन्छन् । यस्तोमा अर्काको दयामा बढी भर पर्नुपर्ने हुन्छ । तर त्यो श्रेणीबाट माथि जाँदा कसैको दयामा नभई आफ्नो क्षमताको बलमा अघि बढ्न सकिन्छ ।’ अल्पविकसित देश (एलडीसी) को अध्यक्ष हुँदा गर्व गर्ने नेपाल सरकारले यसबाट पाठ सिक्नु जरूरी देखिन्छ । 

हुन पनि अल्पविकसित देशप्रतिको अन्तर्राष्ट्रिय दृष्टिकोण अत्यन्तै हेपाहा किसिमको हुन्छ । र अल्पविकसित देश त्यही हैसियतमा रहिरहनु पनि दातृसमुदाय, गैरसरकारी संस्था तथा नागरिक समाज भनिने वर्गको स्वार्थको विषय रहन्छ ।

लामो समयसम्म बंगलादेश अनुदानमा आधारित अर्थतन्त्र भएकाले दातृनिकाय र गैससहरूको कब्जामा रह्यो जुन अवस्था नेपालमा अहिले कायम देखिन्छ । दातृनिकाय र गैसस स्वार्थ समूहले देशका महत्त्वपूर्ण नीतिनियममा गरेको हस्तक्षेप गरेर जनताको इच्छाविपरीतका निर्णयहरू लादिरहेको यथार्थ नेपालमा स्पष्ट छ । हुन पनि नेपाल मात्र नभई धेरै विकासशील देशहरूको अहिलेको कथा नै यही हो । यसबाट मुक्ति पाउनका लागि बंगलादेशले झैं नेपालले पनि स्वनिर्भर अर्थतन्त्र बनाउनु जरूरी छ ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार, नेपालको कुल गार्हस्थ्य उत्पादनमा प्राथिमक क्षेत्रको योगदान करीब ३० प्रतिशत रहेको छ । विभागले यस क्षेत्रको योगदान घट्दै गइरहेको उल्लेख गरेको छ । प्राथमिक क्षेत्रअन्तर्गत कृषि तथा वन, मत्स्य र खानी तथा उत्खनन लगायतका आर्थिक क्रियाकलाप पर्छ । बंगलादेशले कृषि क्षेत्रमा हासिल गरेको आत्मनिर्भरताबाट नेपालले पाठ सिक्नुपर्ने देखिन्छ ।

त्यस्तै कुल गार्हस्थ्य उत्पादनमा द्वितीय क्षेत्रको योगदान विगत दश वर्षयता १४ दशमलब ६ प्रतिशत रहेको छ । यस क्षेत्रअन्तर्गत निर्माण उद्योग, ग्यास तथा पानी सम्बन्धी क्रियाकलाप पर्छ । उक्त क्षेत्रको योगदान समेत घट्दै गइरहेको विभागको विश्लेषण छ ।

कुल गार्हस्थ्य उत्पादनमा तृतीय क्षेत्रको योगदान ५१ दशमलब ७ प्रतिशत रहेको छ । यस क्षेत्रअन्तर्गत व्यापार, होटेल तथा रेस्टुरेन्ट, यातायात, स्वास्थ्य, सञ्चार, सार्वजनिक प्रशासन लगायतका सम्पूर्ण सेवा पर्छ । कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान बढ्दै गइरहेको छ । निर्यातमुखी अर्थतन्त्र र पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्नुपर्ने आवश्यकता देखिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्