
डोटी – दिपायल सिलगढी नगरपालिका–३ का वडा सदस्य कृष्णबहादुर सुनारले आफूले पाउँदै आएको पारिश्रमिक बापतको रकम सिलगढीमा रहेको पूज्य धर्मान्तक वृद्धाश्रमलाई दिने घोषणा गरेका छन् ।
नगरपालिकाको बैठक भत्ता लगायत थप अन्य पाउने सबै सुविधा उनले सो आश्रमलाई दिने घोषणा गरेका हुन् ।
बिहीवार पत्रकार सम्मेलन गरेर उनले आफूले नगरपालिकाबाट पाउँदै आएको मासिक रु दुई हजार ५०० सो आश्रमलाई दिने घोषणा गरेका छन् ।
गत जेठ २ गते खोलिएको सो बृद्धआश्रममा हाल चार बृद्ध रहेका आश्रम सन्चालक समितिका उपाध्यक्ष गणेश बमले जानकारी दिए ।
आश्रममा पुर्वीचौकी २ बगलेक का ७३ वर्षीय रघु साउद दिपायल सिलगढी–६ का ६५ वर्षीय भरत श्रेष्ठ, शिखर नगरपालिकाका ८५ वर्षीय किरुवा भुल र सायल गाउँपालिक–२ का अपाङ्ग अमरबहादुर सिंहले आश्रय लिइरहेका छन् ।