काठमाडौं– त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आसन्न स्ववियु निर्वाचन तयारी सम्बन्धमा संकायका डीन, निर्देशनालयका निर्देशक, महाशाखा प्रमुख एवं उपत्यकाभित्रका आङ्गिक क्याम्पसका क्याम्पस प्रमुखहरुसँग छलफल गरेको छ ।
शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा डीन, निर्देशक, महाशाखा प्रमुखहरु एवं क्याम्पस प्रमुखहरुबाट निर्वाचन सफलतापुर्वक सम्पन्न गर्न र तोकिएको जिम्मेवारी पुरा गर्न स्ववियु निर्वाचन निर्देशिकामा समावेश हुनुपर्ने आचारसंहिताका विषयवस्तुहरुमा छलफल गरी सुझावहरु प्रस्तुत गरिएका छन् ।
कार्यक्रममा त्रिविका उपकुलपति डा. तीर्थराज खनियाँले क्याम्पस प्रमुखहरु एवं विद्यार्थी संघसंगठनहरुसंग निरन्तर छलफलमा रहेर निर्वाचन सम्पन्न गर्ने बताए ।
उनले उमेद्वार हुने उमेरहद अघिल्लो निर्वाचनबाट स्थापित भइसकेकोले यो निर्वाचनलाई नियमित प्रक्रियाको रुपमा सम्पन्न गर्नुपर्ने दायित्व त्रिविका सबै आङ्गिक क्याम्पसहरुलाई भएको बताए ।
छलफलबाटै निर्वाचनसम्बन्धी स्पष्ट रुपमा विधि र प्रक्रियाको टुङ्गो लगाएर तोकिएको मितिमा निर्वाचन गर्न त्रिवि सक्षम रहेको बताउँदै उनले त्यसको लागि सम्पूर्ण व्यवस्थापनको तयारीमा जुट्न, मतदाताहरुको नामावलीको टुङ्गो लगाउन र क्याम्पसभित्र क्रियाशिल विद्यार्थी संघसंगठनहरुसंग निरन्तर सम्वाद गर्न क्याम्पस प्रमुखहरुलाई आग्रह गरे ।
शिक्षाध्यक्ष प्रा.डा. त्रिपाठीले निर्वाचन प्रक्रियाको तयारी थाल्न त्रिविबाट पहिलो परिपत्र भइसकेको स्मरण गराउँदै दोस्रो चरणमा यो छलफल चलिरहेको बताइन् ।
स्ववियु निर्वाचनको लागि क्याम्पस प्रमुखको जिम्मेवारी र क्याम्पसमा गठन हुने निर्वाचन समिति एवं आचारसंहिता अनुगमन उपसमिति समेतलाई बलियो बनाउँदै जिम्मेवारी तोक्ने विषयमा थप छलफल गरेर निर्णय लिइने उनले बताइन् ।
फागुन १४ गते स्ववियु निर्वाचनको स्थापित मिति भएकोले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न विद्यार्थी संघसंगठनहरुबाट समेत सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिन् ।