काठमाडौं, १ पुस — दीपिका पादुकोणले आफू बसिरहेको प्रभादेवी अपार्टमेन्ट छोडेर गोरेगाँवस्थित वेस्टिन होटलमा बस्न थालेकी छिन् ।

उनका प्रेमी रणवीर सिंह पनि दीपिका बसेको होटेलनजिकैको हाईराइज बिल्डिङमा सरेका छन् ।
लौ, तपाईंहरूले अनुमान लगाउन थाल्नुभयो होला, रणवीर र दीपिका सँगै बस्ने तारतम्य गर्दैछन् भनेर । कुरो त्यसो होइन ।
उनीहरू दुवैजना सञ्जय लीला भन्सालीको फिल्म पद्मावतीका लागि घर छोडेर अन्त बस्न थालेका हुन् ।
भन्साली आफ्ना कलाकार चरित्रमा मजाले घुसून् भन्ने चाहन्छन् । त्यसैले उनी कलाकारलाई घरबाहिर फिल्म सेटनिर बस्न लगाउँछन् । पहिला बाजिराव मस्तानी बनाउँदा पनि उनले रणवीर र दीपिकालाई फिल्म सिटी नजिकै बस्न लगाएका थिए ।
‘सेटमा घन्टौं लगाएर आउनुभन्दा सेटनजिकै बस्दा सधैं समयमै हाजिर हुन सकिन्छ भनेर भन्सालीले दुवैलाई घर छोड्न लगाएका हुन्,’ निर्माताको टिमका एक व्यक्ति बताउँछन् ।
दीपिका प्रभादेवीमा बस्छन् भने रणवीर बान्द्रामा । फिल्म शूटिङ भइरहेको गोरेगाँवमा उनीहरूलाई दिनदिनै पुग्न गाह्रो हुन्छ किनकि मुम्बईको ट्राफिक जहिल्यै जाम हुन्छ ।
त्यसैले दीपिका फिल्म शूटिङ हुन्जेल होटेलमा बस्नेछिन् भने रणवीरलाई हाई राइज बिल्डिङमा राखिएको छ ।
बलिउड लाइफ