काठमाडौं, २६ फागुन - जाजरकोट बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २४ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी भावेश रिमालले दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुगेको लोकान्तरलाई बताए । ‘घटनास्थलबाट २४ जनाको शव निकालिएको छ, अहिले घाइतेहरुको उपचारको लागि नेपालगञ्ज पठाउने तयारी गरेका छौं, बिहिबार अबेर उनले भने, ‘घटनास्थलमा उद्दारकार्य सकिएको छ । चौरजहारी अस्पतालमा उपचार सम्भव नभएकाले नेपालगञ्ज पठाउन लागिएको हो । '
उनको अनुसार केहिको चौरजहारी अस्पताल र गम्भीर घाइते २८ जनालाई नेपालगञ्ज पठाउन लागिएको हो । घाइतेलाई नेपालगञ्ज पठाउनको लागि काठमाडौंबाट हेलिकप्टर मगाइएको उनले बताए ।
जाजरकोट सदरमुकाम खलंगाबाट खारातर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको बस पासागाढ भन्ने स्थानमा भीरबाट करीब ४०० मिटर तल खसेर सो भयानक दुर्घटना भएको हो ।
दुर्घटनास्थलपछि घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीय उद्दामा खटिएका थिए ।
अहिलेसम्म १५ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा भेरीमालिका नपा–४ का गणेश बोहोरा र नदिल चन्द, भेरीमालिका–३ का शान्त सुनार, भेरीमालिका–१० का सन्तोष चन्द, भेरीमालिका–११ का गोपाल सुनार, बहादुर भण्डारी र शर्मिला सुनार, दसेरा–१ का डिलबहादुर बुढा र दसेरा–२ का मनिराम जैसी, सिमा–९ का मदन पुन, लहँ–४ का रामबहादुर बस्नेत, साल्म–५ का नन्दलाल जैसी, पजारु–८ का नैने दमार्इं, मजकोट–७ का दले तिरुवा र रुकुम चौरजहारीका कृष्णबहादुर गिरी छन् । अन्य मृतकको सनाखत हुन सकेको छैन ।
घुमाउरो सडकमा तीब्र गतिका कारण बस दुर्घटनामा परेको अनुमान गरिएको डिएसपी रिमालले जनाएका छन् ।
चलानीमा ४३ जना मात्रै यात्रु बोकेर हिँडेको भएपनि बसले बाटोमा यात्रु थप्दै जाँदा संख्या बढेको हो ।
घटनास्थलमा पुगेका स्थानीय विकास अधिकारी रुद्र पण्डितका अनुसार घटनास्थलमा घाइते र मृतकका परिवार शोकाकुल भएका छन् ।