०९ असार २०८३, मंगलबार

योगेशले सम्झाए रामचन्द्रको नजीर, चिकित्सा शिक्षा विधेयक शुक्रवार जसरी पनि पारित गर्ने

योगेशले सम्झाए रामचन्द्रको नजीर, चिकित्सा शिक्षा विधेयक शुक्रवार जसरी पनि पारित गर्ने

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं सांसद योगेश भट्टराईले यही माघ ११ गते बस्ने संसद् बैठकबाट चिकित्सा शिक्षा विधेयक पारित हुने जिकिर गरेका छन् ।

बुधवार राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै नेता भट्टराईले ११ गतेको बैठकमा मन्त्रीलाई रोस्ट्रममा जान नदिए मन्त्री बसेकै ठाउँबाट विधेयक पेश गरेर भएपनि पारित गर्ने बताए । स्मरण रहोस्, मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदहरूले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई रोस्ट्रममा जान नदिँदा चिकित्सा शिक्षा विधेयक निर्णयार्थ पेश हुन सकेको थिएन । 

‘माघ ११ गते बस्ने बैठकबाट यो विधेयकमा हामी ट्याक्कै पारित गर्छौं । पास हुन्छ । मन्त्रीलाई रोस्ट्रममा जान दिइएन भने मन्त्री बसेकै ठाउँबाट पनि पास हुन्छ,' नेता भट्टराईले भने, 'त्यसको नजिर कांग्रेसकै नेता रामचन्द्र पौडेलले बसाइसक्नुभएको छ ।’

उनले कोट्याएको सन्दर्भलाई थप प्रस्ट्याउँदै भने, 'नेपाली कांग्रेसका साथीहरूलाई म रामचन्द्र पौडेल सभामुख भएको बेलाको कुरा सम्झिन आग्रह गर्छु । स्थानीय निकाय सम्बन्धी विधेयक पारित गर्न नदिन तत्कालीन नेकपा एमालेले संसद् अवरुद्ध गर्‍यो । मन्त्रीले रोस्ट्रममा गएर त्यो विधेयक प्रस्तुत गर्न सक्नुभएन । तर सभामुख पौडेलले तपाईं जुन ठाउँमा बस्नुभएको छ, त्यही ठाउँबाट विधेयक प्रस्तुत गर्नुस् भनेर मन्त्रीलाई भन्नुभयो । सामान्यतयः मन्त्रीले रोस्ट्रममा गएर विधेयक प्रस्तुत गर्ने चलन हुन्छ । पौडेलजीले त्यतिबेला मन्त्रीलाई बसेकै ठाउँबाट विधेयक टेबुल गर्न लगाउनुभयो र पास गर्नुभयो । म नेपाली कांग्रेसका साथीहरूलाई त्यो कुरा पनि हेर्न भन्छु ।’

संसद्को आफ्नै अधिकार हुने भन्दै उनले चिकित्सा शिक्षा विधेयक पास गर्न नरोक्न कांग्रेसलाई आग्रह गरे ।

नेता भट्टराई प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य समेत हुन् । सोही समितिले दफावार छलफल पछि पारित गरेको उक्त विधेयक संसद्बाट पारित गर्ने सरकारी तयारी छ ।

तर डा. गोविन्द केसी आफूसँग भएको सहमति उल्लंघन गरी विधेयक ल्याएको भन्दै अनशनमा छन् । डा. केसीले गएको पुस २५ गतेबाट अनशन शुरू गरेका हुन् । 

केसीको यो १६औं अनशन हो ।

salt training

कमेन्ट गर्नुहोस्