सोलुखुम्बु– हिमपातका कारण सोलुखुम्बुसहित उच्च हिमाली क्षेत्रको जनजीवन प्रभावित बनेको छ । जिल्लासहित आसपास क्षेत्रका हिमाल तथा डाँडापाखा हिउँले सेताम्मे भएको छ भने अत्यधिक चिसो महसुस गरिएको छ ।
आज रातिदेखि परेको पानी र हिमपातका कारण सडक यातायातदेखि हवाई यातायातसमेत पूर्णरुपमा बन्द भएको छ । स्थानीय यातायात आंशिकमात्रमा सञ्चालन भइरहेको छ । आज सल्लेरीबाट काठमाडौँका लागि छुटेका अधिकांश जीप पत्तालेमा रोकिएका छन् भने सोलुखुम्बु आउने जीप ओखलढुङ्गाको ठाडेमै रोकिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
जिल्लामा सञ्चालित दुई वटा विमानस्थलमा आज कुनै पनि उडान हुन नसकेको विमानस्थलले जनाएको छ । मौसम प्रतिकूलताका कारण आज कुनै पनि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण फाप्लुका प्रमुख अमित चौरसियाले जानकारी दिए ।