२६ असार २०८३, शुक्रबार

कांग्रेस केन्द्रीय समिति बैठक आज, के होला नेविसंघको भविष्य ?

कांग्रेस केन्द्रीय समिति बैठक आज, के होला नेविसंघको भविष्य ?

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुर सानेपामा बिहान ११ बजे बस्न लागेको हो । 

बैठकले नेपाली विद्यार्थी संघको मौजुदा कार्यसमितिको भविष्य निर्धारण गर्ने छ । हालको कार्यसमितिको थपिएको अवधि पनि यही माघ २ गते सकिएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले नेविसंघको वर्तमान कार्य समितिको अवधि थप गर्ने वा नयाँ कार्यसमिति गठन गर्ने भन्ने निर्णय केन्द्रीय समिति बैठकले गर्ने बताए ।

यसैगरी, महासमिति बैठकले पारित गरेको पार्टीको विधानमा प्राप्त सुझावलाई समावेश गरी कार्यसमितिले विधानलाई अन्तिम रूप दिने छ । महासमिति बैठकले विधानमाथि प्राप्त सुझावहरूलाई मिलाएर राख्ने जिम्मेवारी कार्यसमितिलाई सुम्पेको छ ।

यस्तै, बैठकमा सरकारका गतिविधि, वाइडबडी जहाज खरिदमा अनियमितता भएको भनिएको, चिकित्सक प्राध्यापक डा. गोविन्द केसीको जारी अनशन, पूर्व प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएका दुईवटा अस्पतालका विषय लगायतका विषयमा बैठकमा छलफल हुने छ । 

सरकारसँग रुष्ट बनेको कांग्रेसले सरकारविरुद्ध सदनदेखि सडकसम्म संघर्ष गर्ने तयारी गरेको छ । केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा बुधबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा सरकारविरुद्ध कडा संघर्षमा उत्रने तयारीबारे छलफल भएको छ । आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले यसबारे औपचारीक निर्णय लिने एक नेताले बताए ।

salt training

कमेन्ट गर्नुहोस्