
काठमाडौं –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका कामकारवाही विरुद्ध सदनमा अझ सशक्त रूपमा प्रस्तुत हुने संकेत गरेको छ । बिहीवार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले आफूहरूका माग सरकारले सम्बोधन नगरेसम्म संसद्मा अवरोध जारी राख्ने निर्णय गरेको हो ।
‘शालीनताको नाममा संसद्मा कांग्रेसले गीताको श्लोक गाएर बस्दैन,’ सानेपामा बिहीवार पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता शर्माले भने, ‘बहुमतको रातो झण्डा ओडाउने नाममा विवेकलाई सेतो कात्रो ओडाउनु हुँदैन ।’
कांग्रेसले अनशनरत डा. गोविन्द केसीको माग पूरा गर्न विगतमा भएको सहमतिप्रति इमान्दार बन्न सरकारको ध्यानाकर्षण समेत गराएको छ । ‘संसद्मा बहुमत त हिटलरको पनि थियो, तर विवेक थिएन,’ सत्तारुढ दलका नेताहरूले दुईतिहाइको दम्भ देखाएको भन्दै शर्माले भने ।
आफ्ना नेताका नाममा खोलिएका अस्पताललाई केन्द्र सरकार मातहत राख्नुपर्ने माग गर्दै कांग्रेसले सदनमा अवरोध गरिरहेको छ । नेपाली कांग्रेसले चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची रहेको शुक्रवारका लागि निर्धारित प्रतिनिधि सभाको बैठक चल्न नदिने चेतावनी समेत दिएको छ ।
‘हाम्रा माग पूरा नभएसम्म संसद् बैठक चल्न दिँदैनौं, संसद नचली विधेयक कसरी पारित हुन्छ ?’ बैठकअघि नेता विजयकुमार गच्छदारले भनेका थिए ।