
बीरगंज - बीरगंज महानगरपालिकाले बल प्रयोग गरी मरिनयारी–पर्सौनी सिरिसिया पुलको बाटो संचालनमा ल्याएको छ । बीरगंज महानगरपालिका वडा नम्बर २३ प्रसौनीको इटियाही टोलस्थित सिरिसिया नदीमा बनेको पुल निर्माण शिलान्यासको १ दशकपछि विहीबार देखि उक्त बाटो संचालनमा आएको हो ।
एैलानि जग्गा अतिक्रमण गरी बनाइएका आधा दर्जन पक्की, खपडा तथा फुसका घर गोठहरु बल प्रयोग गर्दै महानगरपालिकाले भत्काइएपछि बाटो संचालनमा आएको हो । बीरगंज महानगरपालिकाको वडा नम्बर २३ का वडाअध्यक्ष अवधकिशोर कुशवाहा लगायत स्थानिय जनप्रतिनिधि तथा समाजसेवीहरुको सक्रिय सहयोग र वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. भिष्म कुमार भूसालको नेतृत्वमा इटियाही पुगेको टोलीले विहीबार दिउँसो घर टहरा भत्काउदै बाटो संचालनमा ल्याएको हो ।
बाटो संचालनमा ल्याउने क्रममा इटियाहीका सिवपुजन सहनी, विनोद पासवान, रुदल सहनी रामलाल पासवान, खोभारी पासवान लगायत आधादर्जन व्यक्तिहरुका घरटहरालाई महानगरापलिकाले डोजर चलाएर भत्काएको छ । महानगरपलिकाका सरसफाई महाशाखाका प्रमुख राजकृष्ण ताम्राकारको नेतृत्वमा पुगेको कर्मचारी तथा नगर प्रहरीको टोलीले जनप्रतिनिधि तथा नेपाल प्रहरीको सहयोगमा बल प्रयोग गर्दै घरमा रहेका सबै समानहरु बाहिर निकाली डोजर चलाएको थियो ।
पर्सा क्षेत्र नम्बर एकका तत्कालीन सांसद अजय द्धिवेदीको सक्रियतामा २०६४ सालमा सिरिसिया खोला पुलको शिलान्यास गरी निर्माण सुरुभएको थियो । लगभग ४ करोडको लागतमा शिलान्यासको दुई बर्षमा निर्माण भएको भएपनि इटियाही टोलवासीको अतिक्रमणले पुल जोडने बाटो खुलाउन सकिएको थिएन । पूर्व सभासदद्धय अजय द्धिवेदी र बिचारी यादवले पटक पटक प्रयास गर्दा पनि दलगत र चुनावी मुद्दाका कारण गर्दा अक्रिमण हटाउन नसकिएको वडा अध्यक्ष कुशवाहाले बताए ।
वाटो संचालनमा आएपछि मनियारी, अपौनी लगायत महानगरपलिकाका विभिन्न ठाउँहरूबाट बीरगंजदेखिको आवागमन छोटो र सहज बनेको छ ।