काठमाडौं, २७ फागुन- भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले गोली हानेर नेपाली नागरिक गोविन्द गौतमको हत्या गरेको घटनामा सरकारले भारत सरकारको ध्यानाकर्षण गराएको छ, आजको नयाँ पत्रिकामा खबर छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले बिहीबार भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई टेलिफोन गरी घटनाबारे ध्यानाकर्षण गराएका हुन्।

‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा गृहमन्त्रीज्यूले भारतीय विदेशमन्त्रीसँग टेलिफोनमा घटनाबारे ध्यानाकर्षण गराउनुभएको छ,’ गृहमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले भने, ‘नेपाल सरकारको चिन्ता व्यक्त गर्नुभएको छ ।’ भारतीय फौज एसएसबीको गोली प्रहारबाट कञ्चनपुर पुनर्बास नगरपालिका–८ का गोविन्द गौतमको बिहीबार निधन भएको छ ।
परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ति जारी गरी भारतीय सुरक्षा फौजबाट निर्दोष नेपालीको हत्या भएको भन्दै घटनाको निन्दा गरेको छ ।