
काठमाडौं — चीनका वैज्ञानिकहरूले अल्जाइमर जस्ता गम्भीर रोगको अध्ययनका लागि जीनमा परिवर्तन गरेर पाँच बाँदरहरूको क्लोन जन्माएका छन् । मेडिकल रिसर्चमा यसबाट सहायता पुग्ने दाबी गरिएको छ ।
तर जीनमा परिवर्तन गरिँदा नैतिक चिन्ता उत्पन्न हुन सक्छ ।
केही दिनअघि मात्र जीनमा परिवर्तन ल्याएर संसारको पहिलो मानव शिशु जन्माएको दाबी चिनियाँ वैज्ञानिकहरूले गरेका थिए । यसको अनधिकृत प्रयोगका विषयमा वैज्ञानिक जगतमा उथलपुथल मच्चिएको थियो ।
समाचार संस्था सिन्ह्वाको रिपोर्टअनुसार, निद्राको समस्या, अवसाद र अल्जाइमर जस्ता रोग भएको एक बाँदरको जीनमा परिवर्तन गरे उसको पाँचवटा क्लोन बनाइएको छ ।
एजेन्सीका अनुसार, पहिलोपटक जैविक अनुसन्धानका लागि बाँदरको जीन परिवर्तन गरेर अनेकौं क्लोन बनाइएको छ ।
वैज्ञानिकहरूले अंग्रेजीमा प्रकाशित हुने चीनको शीर्ष पत्रिका नेसनल सायन्स रिभ्युमा प्रकाशित दुई लेखसँगै बिहीवार बाँदरहरूको क्लोनिङको घोषणा गरे ।
क्लोनिङमार्फत इन्स्टिच्युट अफ न्युरोसाइन्स अफ चाइनिज एकेडमीमा बाँदरलाई जन्म दिइएको छ ।
एजेन्सी