२७ जेठ २०८३, बुधबार

कर्णालीमा १ सय १५ नयाँ कुष्ठरोगी भेटिए

माघ ११, २०७५
कर्णालीमा १ सय १५ नयाँ कुष्ठरोगी भेटिए

सुर्खेत – कर्णालीका १० जिल्लामा गत आर्थिक वर्ष २०७४/०७५ मा १ सय १५ जना नयाँ कुष्ठरोगी फेला परेका छन् ।

कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालय शुक्रवार ६६ औं कुष्ठरोग दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको तथ्यांक अनुसार  कर्णालीमा १ सय १५ जना नयाँ कुष्ठरोगी फेला परेका हुन् ।

स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशका क्षयकुष्ठ अधिकृत पदम केसीका अनुसार कर्णालीका ३ जिल्लामा नयाँ कुष्ठरोगी भेटिएका छैनन् ।

जुम्ला, हुम्ला र डोल्पामा गत वर्ष शून्य कुष्ठरोगी भए भने सबैभन्दा बढी नयाँ कुष्ठरोगी सल्यानमा फेला परेका छन् । सल्यानमा गत आर्थिक वर्षमा ३२ जना कुष्ठरोगी फेला परेको अधिकृत केसीले बताए । रुकुम पश्चिममा २१ जना फेला पर्दा जाजरकोटमा २४ जना तथा सुर्खेतमा २० जना नयाँ कुष्ठरोगी फेला परेका हुन् ।

दैलेखमा ७ जना र कालिकोटमा १० जना नयाँ कुष्ठरोगी फेला पर्दा मुगुमा ३ जना फेला परेको उनले बताए । कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७२/०७३ मा १ सय १९ जना कुष्ठरोगी भेटिएका थिए भने २०७३/०७४ मा १ सय १५ जना नयाँ कुष्ठरोगी भेटिएका थिए ।

कर्णालीको हुम्ला र डोल्पामा कुष्ठरोगी खोजी नगरिएको अधिकृत केसीले बताए । ‘हामीले त्यहाँ गएर खोजी गरेका छैनौं,’ उनले भने, ‘खोजी गरे त्यहाँ पनि भेटिन्छन् ।’ उनले कुष्ठरोग अब सामान्य भइसकेको बताउँदै कुष्ठरोगबारे जनमानसमा चेतना जगाउन आवश्यक रहेको जानकारी दिए । 

‘नेपालमा हाल १० हजारमा १ जनालाई कुष्ठरोग संक्रमण भएको पाइएको छ,’ उनले भने, ‘सरकारको लक्ष्य सन् २०२० सम्म संख्यालाई शून्यमा झार्ने लक्ष्य लिएको छ । यसका लागि सबै पक्ष मिलेर अघि बढ्न आवश्यक छ ।’

salt training

कमेन्ट गर्नुहोस्