
काठमाडौं – चिकित्सा शिक्षा विधेयक सम्बन्धी माग राख्दै अनशनरत डा. गोविन्द केसीले प्रतिनिधिसभा बैठकबाट विधेयक पारित भएपछि पनि अनशन जारी राख्ने भएका छन् ।
सरकारले गरेको सम्झौता अनुसार विधेयक नआएको भन्दै डा. गोविन्द केसीले अनशन गरिरहेका छन् ।
संसदबाट विधेयक पारित भएपछि डा. केसीको अनशनस्थलमा उनका प्रतिनिधि डा. जीवन क्षेत्रीले पत्रकार सम्मेलन गर्दै सम्झौता कार्यान्वयन गराउन नसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरे । पत्रकार सम्मेलनमा अनशनरत डा. केसी भने बोलेनन् ।
‘डा. केसीका सबै माग पूरा नभएसम्म अनशन जारी रहन्छ,’ डा. क्षेत्रीले पत्रकार सम्मेलनमा भने, ‘सरकारले चाह्यो भने राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण हुनुअघि पनि माग पूरा गर्न सकिन्छ । सहमति जुट्न सक्छ ।’