१४ असार २०८३, आइतबार

बसमा करेन्ट लाग्दा ७ जनाको मृत्यु, अवरोधबीच विधेयक पारित

बसमा करेन्ट लाग्दा ७ जनाको मृत्यु, अवरोधबीच विधेयक पारित

काठमाडौं– धनुषामा जन्ती बोकेको बसमा करेन्ट लाग्दा ७ जनाको मृत्यु भएको छ । सबैला नगरपालिकाअन्तर्गत पर्ने बल्टिया कोठियामा ११ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको तारमा ना५ख १७५२ नम्बरको जन्ती बोकेको बसले छुँदा उनीहरुको मृत्यु भएको हो ।

धनुषाको सबैला नगरपालिका बल्टियाकोठीयामा बस पोलमा ठोक्किदा घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो। अर्का एकजनाको उपचारका क्रममा मृत्यु भएको हो। 

सिन्धुलीको दुधौली नगरपालिकास्थित जितपुर टोलबाट धनुषाको बल्टिया कोठियातर्फ जन्ती बोकेर आउँदै गरेको सो बस शुक्रबार बेलुका दुर्घटनामा परेको हो । बसमा सवार अन्य जन्ती गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ । 

चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित
‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ प्रतिनिधि सभाको बैठकबाट बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधकाबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले पेश गरेको विधेयक बहुमतले पारित भएको शुक्रबारको बैठकमा सभामुख कृष्णबहादुर महराले सदनलाई जानकारी गराउनुभयो ।

सरकारले चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै पटक–पटक अनशन गर्दै बस्दै आएका प्रा डा गोविन्द केसी र सरकारबीच भएको सहमतिको भावनानुसार नै सरकारले चिकित्सा शिक्षासम्बन्धी विधेयक ल्याएको जनाएको छ । विधेयकमा डा केसीले उठाएका ९५ प्रतिशत माग सम्बोधन गरिएको सरकारको जिकिर छ । बैठकपछि संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री पोखरेलले केसीसँग भएका सहमतिका सर्वाधिक माग सम्बोधन गरिएको जानकारी गराउँदै केसीको भूमिकाका कारण चिकित्सा शिक्षामा सुधारका लागि अहमभूमिका रहेको बताए।

सरकारप्रति नागरिकको विश्वासमा ह्रास आएको काँग्रेसको टिप्पणी
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आज प्रतिनिधिसभामा चिकित्सक शिक्षा विधेयक पारित भएको घटनालाई गम्भीरतापूर्वक लिइएको जनाएको छ । प्रतिनिधिसभा बैठकले प्रतिपक्षी दलको विरोध भए पनि सो विधेयक पारित गरेको थियो । 

काङ्ग्रेसले शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गरी सरकारले विपक्षीरहित राज्यप्रणाली हुनुपर्छ भन्ने विश्वास कायमै राखेको आरोप लगाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले ‘प्रधानमन्त्री स्वयंको अग्रसरतामा प्रा डा गोविन्द केसीसँग भएको सम्झौता कार्यान्वयन नहुँदा’ सरकारप्रति नागरिकको विश्वासमा ह्रास आएको टिप्पणी गरे । गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पताल नामेट गर्ने प्रयास गरेर सरकारले प्रतिपक्षलाई द्वन्द्वका लागि खुला आमन्त्रणसमेत गरेको काङ्ग्रेसले आरोप लगाएको छ ।  काङ्ग्रेसले यस सम्बन्धमा चाँडै राष्ट्रव्यापी रुपमा आफ्नो फरक मत प्रस्तुतिको कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ । 

यसैबीच काँग्रेस संसदीय दलले संसदीय मर्यादा कायम राख्न सभामुखबाट निष्पक्ष एवं विवेकपूर्ण भूमिका निर्वाह नभएको आरोप लगाएको छ । सरकारलाई दबाब दिन काँग्रेसले संसद्मा गरेको विरोध कायम रहेकै अवस्थामा प्रतिनिधिसभाबाट चिकित्सा शिक्षा विधेयक पारित भएपछि बसेको काँंग्रेस संसदीय दलको आकस्मिक बैठकले सभामुखबाट निष्पक्षता र निर्भीकताको भूमिका निर्वाह नभएको निष्कर्ष निकालेको छ । 

फिरौती बुझाएर बालिका मुक्त
काठमाडौंको कोटेश्वरबाट शुक्रबार अपहरण गरिएकी दुई वर्षीया बालिकालाई मुक्त गर्न फिरौती मागिएको डेढ लाखसहित जनकपुरबाट एक महिला पक्राउ परेकी छन्। बालिका भने काठमाडौंबाटै सकुशल मुक्त भएकी छन् ।

जनकपुर घर भई काठमाडौं बस्दै आएका सन्तोष दत्तकी छोरी अनविज्ञाको अपहरण भएको थियो। अपहरणकारीले सन्तोषसँग फिरौतीबापत अढाई लाख रुपैयाँ मागेका थिए । पछि डेढ लाखमा सहमति भएको थियो। धनुषा प्रहरीका अनुसार फिरौती रकम लिएर घर फर्किंदै गरेकी जनकपुर–४ की अर्चना गुप्तालाई शुक्रबार अपराह्न नियन्त्रणमा लिइएको हो।

चिकित्सा शिक्षा विधेयकमा अधिकार सम्पन्न आयोगको व्यवस्था
प्रतिनिधिसभाबाट शुक्रबार पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ ले शिक्षण संस्थाको नियमन तथा चिकित्सा शिक्षालाई गुणस्तरीय बनाउन प्रधानमन्त्रीको अध्यक्षतामा अधिकार सम्पन्न चिकित्सा शिक्षा आयोगको स्थापनालगायत नयाँ व्यवस्था गरेको छ ।

आयोगले चिकित्सा शिक्षा क्षेत्रमा तय गर्नुपर्ने राष्ट्रिय नीति, सङ्घ तथा प्रदेश तहका चिकित्सा शिक्षाको स्तर तथा मापदण्डसम्बन्धी नीति, आशयपत्र, सम्बन्धन, सम्बन्धन खारेजी र एकीकृत प्रवेश परीक्षाको मापदण्ड तय गर्नेछ ।
संसद् र संसद्भन्दा बाहिर लामो छलफलपछि तयार भएको सो विधेयक गत साउनमा चिकित्सक प्रा डा गोविन्द केसीसँगको सम्झौताका आधारमा ल्याइएको जिकिर सरकारले गर्दै आएको छ भने डा केसी सहमतिका सबै बुँदा समावेश नभएको भनी १६औँ पटकको अनशनमा छन् ।

हिमपातले तीन जिल्लाको यातायात बन्द
सोमबार रातिको हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्ला प्रभावित भएको छ भने तीन दिनदेखि दशरथचन्द र जयपृथ्वी राजमार्गका हिउँ सफा नहँुदा यातायात बन्द भएको छ । दार्चुला, बैतडी र बझाङको मुख्य दशरथचन्द र जयपृथ्वी राजमार्ग खोड्पेमा भएको हिमपातले गर्दा बुधबारदेखिको यातायात सेवा चलेको छैन । 

दार्चुला, बैतडी र बझाङसहित अन्य जिल्लाका लागि छुट्ने लामो तथा छोटो दूरीका यातायात साधन बैतडीको खोड्पेमा जाममा परेका छन् । चार दिनदेखि बैतडी जिल्ला सदरमुकाममा बिजुली नभएकाले जनजीवन प्रभावित भएको छ । टेलिफोन अवरुद्ध भएको र मोबाइल फोन चार्ज गर्न समस्या भएको छ । 

प्रधानमन्त्री ओली शनिबार स्वदेश फर्कँदै
प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भई शनिबार बिहान स्वेदश फर्कदै हुनुहुन्छ । डाभोस शहरमा आयोजित उक्त बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार राति त्यसतर्फ प्रस्थान गरेको थियो । 

मञ्चको पूर्णसत्र बैठकका साथै ‘दक्षिण एशियाको राजनीतिक परिदृश्य’ र ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयका दुई बेग्लाबेग्लै छलफलमा विश्वका विभिन्न मुलकका नेतासँग सहभागी हुनुभएका प्रधानमन्त्री ओलीले नेपालमा हासिल भएको राजनीतिक स्थायित्व र आफू नेतृत्वको वर्तमान सरकारका सामाजिक, आर्थिक रुपान्तरणका प्राथमिकताबारे जानकारी दिनुभएको थियो । 

उहाँले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) जस्ता क्षेत्रीय सङ्गठनसँगको साझेदारी र सहकार्यबाट क्षेत्रीय समझदारी र विकास प्रवद्र्धनमा योगदान पुग्ने अभिव्यक्ति दिनुभएको थियो । 

यूएईद्वारा नेपाल तीन विकेटले पराजित
यूएईविरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल तीन विकेटले पराजित भएको छ । दुबईमा शुक्रबार भएको पहिलो एक दिवसीय क्रिकेटमा नेपालले दिएको ११४ रनको लक्ष्य युएईले ३२ दशमलब १ ओभरमा सात विकेट गुमाएर पुरा गरेको हो ।

यसअघि नेपालले टस हारेर ब्याटिङ गरेको नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि ११४ रनको सामान्य लक्ष्य दिएको थियो ।
दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३३ ओभर ५ बलमा अलआउट हुँदै ११३ रनमा समेटियो ।   
 
जितसँगै युएईले नेपालविरुद्धको तीन खेलको सिरिजमा १–० ले अग्रता बनाएको छ । अब नेपालले घरेलु टोलीसँग शनिबार दोस्रो एकदिवसीय खेल खेल्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्