
बुटवल – हाँस्य कलाकारको वास्तविक जीवन कस्तो हुन्छ होला ? बाहिर रंगमञ्चमा हसाएजस्तै हँसिलो र रमाइलो ?
सबै कलाकारको वास्तविक भित्रि जीवन सधै खुशीमय र रमाइलो हुँदैन । त्यस्तै मध्येका हुन् मोफसलका हाँस्य कलाकार विष्णु जी पाण्डे ‘माइला बा’ ।
लामो समय हाँस्य व्यंग्य क्षेत्रमा आभिनय गरेर स्थापित भइसकेका ‘माइला बा’ सबैले चिनेको नाम हो । आफूलाई ‘माइला बा’ को रूपमा समाजमा स्थापित गराएका उनलाई जीवनमा कहिल्यै बिर्सन नसक्ने बज्रपात आइलाग्यो ।
गएको २०७२ चैत १६ चैतमा तातो दूधमा परेर गम्भीर घाइते भएका जेठो छोरा स्वबिसनको चैत २० गते उपचारको क्रममा काठमाडौंमा निधन भएको थियो । उनको शरीरको ४५ प्रतिशत भाग तातो दूधले पोलेर डढेको थियो ।
कान्छो छोरा किरणको ज्वरो र पखालाबाट बिरामी परेका किरणको पनि अर्को दिन २१ गते निधन भयो । स्वबिसन २ वर्ष ९ महिनाका थिए भने किरण भर्खर ७ महिना पुग्दै थिए । रूपन्देहीको तिलोत्तमा भलबारी निवासी हाँस्य कलाकार ‘माइला बा’को परिवारको पीडाले झण्डै १ साता रूपन्देही नै शोकमा डुब्यो ।
सबैलाई हँसाउने माइला बालाई यति ठूलो बज्रपात पर्यो । अब उनले आफ्नो पेशा नै परिवर्तन गर्छन् कि भन्ने पनि धेरैले आकलन पनि गरे । तर उनी आफ्नो मन दह्रो बनाएर छोराहरू बितेको १५ दिनपछि हाँस्यव्यंग्य कार्यक्रममा हिँडे ।
‘छोराहरूको सम्झनामा डुबेर म कार्यक्रममा नहिँडेको भए श्रीमती शोभालाई झन् पीडा हुने थियो । मैले शोकलाई शक्तिमा बदल्ने प्रयास गरेर हिँडे । म बाहिर जति हाँस्यव्यंग्य गरेपनि मेरो वास्तविक जीवन अर्कौ छ । मनमा पीडा छ । जसरी पनि पीडा भुलेर हिँड्नुपर्ने रहेछ । त्यो आँट मैले गरे,’ उनी भन्छन्, ‘हजारौ चोट सहेर पत्थर त्यो मूर्ति बन्दछ । म पनि त्यस्तै धेरै चोट सहेर अहिले माइला बा भएको हुँ ।’

२ छोराको सम्झनामा स्वविसन किरण फाउन्डेसनमा पनि स्थापना भएको छ । फाउन्डेसन स्थापनाको पहिलो वर्षमा नेपाली चलचित्रको महानायक राजेश हमाल, कलाकार राधिका हमाल, इन्द्र जिसी पुस्कल शर्मा लगायतका कलाकारहरू आएर बुटवलको ट्राफिक चोकमा कार्यक्रम गरे । त्यसले उनको आत्मबल बढायो ।
उनको पीडा केही मात्रामा भएपनि भुलाइदिन गएको फागुनमा छोरा जन्मिएको छ । उनी भन्छन्, ‘म भगवानप्रति नमन गर्न चाहन्छु । मलाई भगवानप्रति पूर्ण विश्वास छ । माइलालाई बाच्न गाह्रो हुन्छ भनेर भगवानले मलाई अर्को छोरा पनि दिनुभयो ।’
सानैदेखि हाँस्य व्यंग्य र क्षेत्रमा अभिनय गर्न थालेका माइला बा लुम्बिनी सामुदायिक टेलिभिजनको कार्यक्रम प्रमुख हुन् । उनले पाल्पा बौघा गुहा–९ दरवादीमा ३ कक्षामा पढ्दादेखि नै जनवादी गायक जीवन शर्माको सिमली छाँयामा बसी भन्ने गीतमा बुढो मान्छेको भूमिकामा अभिनय गरेपछि उनले बुढो बाको भूमिका पाएका हुन् ।
२०३९ सालमा जन्मिएका पाण्डे एसएलसी दिएपछि क्याम्पस पढ्न रूपन्देही झरे । क्याम्पस पढ्दै गर्दा नेपाल टेलिभिजनबाट प्रसारण हुने झड्का टेलिचलचित्रबाट हाँस्य व्यंग्य क्षेत्रमा अभिनय शुरू गरेका पाण्डेले अहिलेसम्म आफ्नै स्वर, लय र शब्दमा ४ वटा गीति एल्बम पनि बजारमा ल्याएका छन् । फसे बरिलै, आटोको दर, पुन्टेभुडी र भुल्केचौर उनका गीत हुन् । उनका यी गीतमा सदाबहार शब्दहरू र गाउँले समाजको यर्थाथ चित्रण गरी अभियन गर्रिको छ ।
उनले २०५८ सालमा महानायक राजेश हमाल र निखिल उप्रेतीसँग चलचित्र कानूनमा पनि अभिनय गरेका छन् । चलचित्र रित्तो सिउँदो, नारीको इज्जत, माइ ब्रोदर, मञ्जरी सुब्बा साप लगायत अन्य भोजपुरी चलचित्रमा पनि उनले अभियन गरेका छन् । उनी यहीँ कर्ममा रमाएको झण्डै २० वर्ष पुग्न थाल्यो ।
पछिल्लो समय उनी विशेषगरी स्टेज कार्यक्रमा बढी व्यस्त देखिन्छन् । स्थानीय मेला महोत्सव तथा विभिन्न सांस्कृतिक कार्यक्रममा उनको माग भएकै हुन्छ । ‘म अहिले स्टेज कार्यक्रमबाटै सन्तुष्ट छु । मेरो ठूलो अपेक्षा पनि छैन । मेरो एउटा साइकल पनि छैन । म पैदल नै हिँड्छ,’ उनी भन्छन्, ‘मानिसहरूलाई हसाउन धेरै दुःख हुन्छ । मञ्चमा गएर भाषण गरेजस्तो होइन । दिमाग लगाउनुपर्छ । छाडा शब्द बोल्न पनि हुँदैन, बडो विचार गर्नुपर्छ ।’