०७ असार २०८३, आइतबार

चीनमा महिलालाई दिइँदैछ ‘प्रेम बिदा’, यस्तो छ कारण

चीनमा महिलालाई दिइँदैछ ‘प्रेम बिदा’, यस्तो छ कारण

काठमाडौं — चीनमा लाखौं मानिस आआफ्नो कार्यालयबाट छुट्टी लिएर परिवारसँग भेटघाट गर्ने तयारी गरिरहेका छन् । 

यीमध्ये केही भाग्यमानी मानिसको कार्यालयले आठ दिनको छुट्टी दिएको छ । यसका लागि एउटा मात्र शर्त छ – कर्मचारी सिंगल महिला हुनुपर्छ र उसको उमेर ३० जति हुनुपर्छ । 

आठ दिनको छुट्टीको कारण पनि अनौठो छ । यी सिंगल महिलाहरूले प्रेमी खोजून् भनेर छुट्टी दिइएको हो । 

साउथ चाइना मर्निङ पोस्टका अनुसार, पूर्वी चीनको हाङझाओमा दुई कम्पनीहरू आफ्ना महिला कर्मचारीलाई डेटिङ लीभ दिइरहेका छन् । 

त्यसबाहेक त्यही शहरको विद्यालयमा काम गर्ने अविवाहित महिला शिक्षकहरूलाई पनि यस्तै किसिमका छुट्टी दिइएको छ । यी छुट्टीहरूलाई लभ लीभ भनिन्छ । 

चीनमा लगभग ३० वर्षका महिला अविवाहित रहेमा उनीहरूका लागि अपमानजनक शब्द उपयोग गरिन्छ । 

त्यो शब्द हो शेङ नु । त्यसको अर्थ हुन्छ : छुटिसकेका महिलाहरू । 

चीनमा सिंगल बस्ने चलन बढेर गएको छ । आफ्नो करीयरलाई अघि बढाउनका लागि मानिसहरू बिहेको बन्धनमा बाँधिन चाहँदैनन् । 

तैपनि महिलाहरूमाथि बिहेको दबाब छ । चीनमा घट्दो जनसंख्या दर पनि यो दबाबाको एक कारण हो । त्यहाँ सरकारले मानिस बिहे गरून् र बच्चा जन्माऊन् भन्ने इच्छा राख्छ । 

चीनमा शिक्षित महिलाहरू करीयरप्रति धेरै जागरुक छन् । त्यसैले उनीहरू सिंगल बस्न चाहन्छन् । 

चीनमा सन् २०१५ मा एक बच्चा मात्र पाइने नीतिमा रोक लगाइएको थियो । त्यसबाहेक त्यहाँ जन्मदर पनि निरन्तर घटिरहेको छ । चीनमा सन् २०१३ पछि विवाह दर पनि निरन्तर ओरालो लागेको छ । 

सन् २०१८ मा चीनमा डेढ करोडभन्दा अलिकति बढी बच्चा जन्मेका थिए । सन् २०१७ को तुलनामा यो संख्या दुई लाख कम हो । 

लेखिका होङ फिन्चर चीनमा लैंगिक अनुपातमा एकदमै धेरै अन्तर आएको बताउँछिन् । धेरैजसो परिवार एक बच्चा नीतिका कारण छोरो जन्माउनमा जोड दिन्थे । 

उनी भन्छिन्, ‘चीनमा महिलाको संख्या घटिरहेको छ । सरकारी आँकडाअनुसार, देशमा पुरुषको तुलनामा तीन करोड कम महिला छन् ।’

चीनमा सामाजिक विज्ञान एकेडमीको प्रोजेक्टले अनुमान लगाएअनुसार, यही तीव्रताका साथ जनसंख्या घट्दा अबको ५० वर्षमा चीनको जनसंख्या १४० करोडबाट घटेर १२० करोडमा झर्नेछ । 

यसबीच के प्रश्न उठेको छ भने डेटिङ लीभमार्फत एक महिलाले आफ्नो लागि कसरी पति खोज्लिन् र पति भेटेर बच्चा जन्माउलिन् ? यो अझै अस्पष्ट छ । 

हाङ्झाओ सोङचेङका मानव संसाधन व्यवस्थापक हुआङ लीले यससम्बन्धमा झेजियाङ अन्लाइनसँग कुराकानी गरे । उनले भने, ‘केही महिला काममा धेरै व्यस्त भएर संसारबाट एक्लिन्छन् । त्यसैले हामी महिला कर्मचारीलाई

अतिरिक्त छुट्टी दिन चाहन्छौं । यी छुट्टीमा उनीहरू पुरुषसँग सम्पर्कमा आउन पाउँछन् ।’

महिलाहरूले डेटिङ लीभ खुबै मन पराएको उनले बताए । 

तर लेखिका होङ फिन्चरले यस्ता प्रयासबाट कुनै लाभ नहुने धारणा राखेकी छन् । 

उनी भन्छिन्, ‘फरक किसिमका प्रयोग र नीतिहरू ल्याइएकोमा यो एक नयाँ नीति मात्र हो । महिलाहरू बिहे गर्न र बच्चा जन्माउन आतुर छैनन् ।’ 

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्