
काठमाडौं — भेनेजुएलामा विगत २५ वर्षमा तीनपल्ट कूको प्रयास भइसकेको छ । तर अहिले त्यहाँ भइरहेको नाटकीय घटनाक्रममा सबैको नजर सेनामा रहेको छ ।
भेनेजुएलाको सेनाले राष्ट्रपति निकोलस मडुरोको साथ देला कि विपक्षी नेता तथा स्वघोषित राष्ट्रपति हुआन गुआइडोको साथ देला ?
संवैधानिक राष्ट्रपति आफैं भएको मडुरोले दाबी गरिरहेका छन् र अमेरिकाले गुआइडोलाई नेता मानेपछि उक्त देशसँग सम्बन्ध तोडेका छन् ।
देशका रक्षामन्त्री भ्लादिमिर पेड्रियानो लोपेजले सेना राष्ट्रपतिप्रति बफादार रहेको बताउँदै गुआइडोको आलोचना गरेका छन् ।
मडुरो प्रशासनमा भएका एक तिहाइ मानिस कि त सेनामा छन् कि त पूर्वसैनिक हुन् ।
भेनेजुएलाको संविधानअनुसार, सेना गैरराजनीतिक हुनुपर्छ । तर रक्षामन्त्री लोपेज आफ्ना पत्रहरूको अन्त्यमा ट्रेडमार्क हस्ताक्षर गर्छन् – चाभेज हुन्जेल मातृभूमि अघि बढिरह्यो, स्वतन्त्र र समाजवादी मातृभूमि ।
लोपेजले आर्मी कर्नेलका रूपमा करीयर शुरू गरेका थिए । ह्युगो चाभेजविरुद्ध सन् २००२ मा गरिएको असफल कूका बेलामा उनले सरकारको विश्वासपात्रको भूमिका निर्वाह गरेका थिए ।
त्यसपछि उनी संयुक्त सेनाध्यक्ष बने र पछि भेनेजुएलाको कमान्डर इन चीफ बनाइए । उनी यस पदमा मडुरो सरकारमा रक्षामन्त्री बनाइएसम्म बसे ।
भेनेजुएलाका नेताहरूको भविष्य लोपेज जस्ता अधिकारीहरूमा निर्भर छ ।
सन् १९९९ मा पूर्व राष्ट्रपति ह्युगो चाभेजले संविधान संशोधन गरेर सेनालाई बलियो बनाए र राजनीतिक भूमिका निर्वाह गर्ने बाटो पनि खोलिदिए । राजनीतिक भूमिका भन्नाले त्यहाँको परम्परागत रक्षा र सुरक्षा भूमिकाभन्दा अघि बढेर सक्रियता देखाउनु हो ।
भेनेजुएलामा हरेक दिन महंगाइ बढेको छ अनि खाद्यान्न संकट छाएको छ । सेनाका अधिकारीहरूले मात्र चामल। कफी तथा अन्य खाद्यपदार्थ बाँड्ने अधिकार राख्छन् । त्यति मात्र नभई ट्वाइलेट पेपर, टावेल र न्यापकिन बाँड्ने काम पनि सैन्य अधिकारीहरूसँग छ ।
सैन्य प्रतिष्ठानहरूमा विरोध प्रदर्शन र खाद्यान्न लुट्ने घटनापछि नागरिक पक्राउ परेको खबर पनि आइरहेको छ । यसलाई नागरिक संगठनहरूले निकै विरोध गरेका छन् ।
तल्लो स्तरमा सैन्य अधिकारीहरूले पनि आम नागरिक जस्तै जीवनयापनमा संकटको सामना गर्नुपरेको छ । उनीहरू पनि इन्धन र खाद्यान्नका लागि तड्पिनुपरेको छ ।
अघिल्लो साताको विरोध प्रदर्शनपछि विद्रोह गर्ने लुटपाट मच्चाउने आरोप लागेका सेनाका १०० जवानलाई जेलमा कोचिएको छ ।
सेनामा पनि अनिश्चितताको स्थितिमा वृद्धि आएको विश्लेषकहरू बताउँछन् । आन्तरिक तनावका कारण गत वर्ष तीन सैन्य अधिकारीले भागेर कोलम्बियामा शरण लिएका थिए । उनीहरूमाथि कूको षड्यन्त्र रचेको आरोप थियो ।
तर अहिलेसम्म भेनेजुएलाको सेना मडुरोको साथ दिइरहेको छ । १६ हजार ९०० सैनिकलाई बफादारिता देखाएकोमा बढुवा गरिएको बताइएको छ । संकटको समयमा सेनाको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुने देखिएको छ ।
बीबीसीबाट