
काठमाडौँ –नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोको समर्थन र अमेरिकालगायत पक्षधर राष्ट्रको विरोध गर्दै जारी गरेको वक्तव्यप्रति अमेरिकाले सरकारको आधिकारिक धारणा मागेको छ ।
आजको कान्तिपुर दैनिक लेख्छ–सत्तारूढ दलका अध्यक्षले जारी गरेको विज्ञप्तिलाई ‘नोटिस’ मा लिएको भन्दै अमेरिकी दूतावासले परराष्ट्र मन्त्रालयसँग यसबारे सरकारको धारणा प्रस्ट पार्न आग्रह गरेको हो।
‘सरकारको धारणा के हो भन्ने जान्नका लागि आग्रहसहितको पत्र पठाएका छौं,’ अमेरिकी राजदूतावासका एक अधिकारीले भने।
दाहालले गत शुक्रबार भेनेजुयलामा बढिरहेको राजनीतिक संकटबारे विज्ञप्ति जारी गर्दै अमेरिका र उसका पक्षधर राष्ट्रका कदमको विरोध गरेका थिए। भेनेजुयलाका जनता, सार्वभौमसत्तामाथि हस्तक्षेप भन्दै यसलाई ‘साम्राज्यवादी कु’ गर्ने प्रयासका रूपमा टिप्पणी गरेका थिए।
राष्ट्रिय सभाका अध्यक्ष जुवान गुइडोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि भेनेजुयलामा राजनीतिक संकट चुलिएको हो। भेनेजुयलाको संकटलाई लिएर विश्व महाशक्ति राष्ट्रहरू दुई ध्रुवमा विभाजित भएका छन्।
अमेरिका र उसका पक्षधर राष्ट्रले गुइडोलाई समर्थन गरेका छन्। रुस, चीन, भारत, टर्कीलगायतले राष्ट्रपति वैधानिक चुनावी प्रक्रियाबाट निर्वाचित भएको भन्दै मडुरोलाई समर्थन गरेका छन्।
यही सन्दर्भमा दाहालले पनि विज्ञप्ति जारी गर्दै मडुरोको समर्थन गरेका थिए।