१५ असार २०८३, सोमबार

कांग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध, प्रतिनिधिसभामा बलजफ्ती गरेको आरोप

कांग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध, प्रतिनिधिसभामा बलजफ्ती गरेको आरोप
फाइल फोटो

काठमाडौं –आफ्ना नेताको नाममा रहेका अस्पताललाई केन्द्र सरकार मातहत ल्याउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध पारेको छ । 

सोमवार बसेको बैठकको शुरूमै कांग्रेस सांसदहरू उभिएर गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल संघ मातहत ल्याउने निर्णय नगर्दासम्म बैठक चल्न नदिने बताएका हुन् ।

अध्यक्षसँग समय लिएर कांग्रेस सांसद बद्री पाण्डेले सरकार झनझन असहिष्णु र स्वेच्छाचारी बनेको आरोप लगाए । ‘सरकारले राजा महेन्द्र र श्री ३ महाराजको जस्तो कांग्रेस नेताहरूका नाममा रहेका अस्पताल खारेजीको तगारी गरेको छ, नेकपालाई ज्ञात रहोस् व्यवस्था फेरिएको होइन सरकार मात्र फेरिएको हो,’ पाण्डेले भने । 

उनले प्रतिनिधिसभाका चिकित्सा शिक्षा विधेयक पारित गर्ने क्रममा सरकारले गरेको बलजफ्ती र संवैधानिक परिषद्को बैठकमा विपक्षी दलका नेताको अनुपस्थितिमा गरिएका निर्णयबारे आफूहरू निकै गम्भीर भएको बताए ।

कांग्रेसको विरोधपछि राष्ट्रिय सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठकमा प्रतिनिधि सभाबाट पारित चिकित्सा शिक्षा विधेयक टेबुल गर्ने कार्यसूची छ ।

यसअघि माघ २ र ७ गतेको बैठक पनि कांग्रेसले अवरुद्ध गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्