
काठमाडौं– चिनियाँ टेलिकम जाइन्ट हुवाई तथा हुवाईकी प्रमुख फाइनान्स अफिसर मेङ्ग वान्खाविरुद्ध ठगी मुद्दा दायर भएको छ । अमेरिकाको न्याय विभागले दायर गरेको मुद्दामा अमेरिकाको टि मोबाइलको प्रविधि चोरी गरेको, बैंक तथा वायर फ्रड गरेको र न्याय प्रक्रियामा अवरोध गरेको आरोप लगाइएको छ ।
मेङ्गलाई गएको डिसेम्बरमा अमेरिकाको आग्रहमा क्यानडाको प्रहरीले भ्यानकुभरमा पक्राउ गरेको थियो । मेङ्ग पक्राउ परेपछि चीन, क्यानडा र अमेरिकाको सम्बन्धमा गम्भीर असर परेको छ ।
अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धको उल्लंघन गरेको आरोप उनी र उनको कम्पनी हुवाईमाथि छ । मेङ्ग र हुवाई कम्पनी दुवैले आरोप अस्वीकार गर्दै आएका छन् ।