०४ साउन २०८३, सोमबार

कर्णालीमा रारा नाट्य महोत्सव हुने, देशभरका नाटक देखाइने

माघ १५, २०७५
कर्णालीमा रारा नाट्य महोत्सव हुने, देशभरका नाटक देखाइने

सुर्खेत – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रारा नाट्य महोत्सव २०७५ आयोजना हुने भएको छ ।

महोत्सव फागुन २३ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ । सांस्कृतिक संस्थानको मूल आयोजना तथा आरङ्ग नेपाल सुर्खेतको आयोजनामा रारा राष्ट्रिय नाटक महोत्सव २०७५ हुन लागेको आयोजक समितिका अध्यक्ष गणेशभक्त गौतमले बताए । उनका अनुसार महोत्सवमा देशभरका नाटककारले आफ्नो नाटक प्रदर्शन गर्नेछन् ।

हरेक प्रदेशबाट २ वटा नाटक प्रदर्शन गरिने अध्यक्ष गौतमले बताए । उनका अनुसार १ नम्बर प्रदेशबाट आरन सगरमाथा नाट्य समूह सोलुखुम्बु र म पहिलो किसान जन्माउँछु मानव अधिकार मञ्च नेपाल इलाम छनौट भएका छन् ।

२ नम्बर प्रदेशबाट ‘दहेज आ दारु’ गढीमाई नाट्य कला केन्द्र बाराले नाटक प्रदर्शन गर्नेछ भने ३ नम्बर प्रदेशले ‘एक बोली एक दाम’ ङ समूह काठमाडौं र ‘जिउँदो आकाश’ साइलेन्ट एक्ट काठमाडौंले प्रदर्शन गर्नेछन् ।

गण्डकी प्रदेशबाट ‘घेरो’ युथ क्रियशन थियटर, पोखरा र ‘नौगेडी’ मञ्जरी नाट्य समूह लमजुङका नाटक प्रदर्शन हुनेछन् । ५ नम्बर प्रदेशबाट ‘हिटवा’ शान्तिका लागि युवा सञ्जाल बर्दिया र ‘आमाको सपना’ कर्णाली कला प्रतिष्ठान सुर्खेतले प्रदर्शन गर्नेछन् । कर्णाली प्रदेशबाट कर्णाली खस संस्कृति संरक्षण मञ्च जुम्लाले ‘फड्के’ प्रदर्शन गर्नेछ भने सुदूरपश्चिम प्रदेशबाट ‘छाउ’ खप्तड सांस्कृतिक परिवार कैलाली र ‘श्रीमान् वीरबहादुर’ सुदूरपश्चिमाञ्चल साहित्य समाज कैलालीले प्रदर्शन गर्ने गरी नाटक छनौट गरिएको अध्यक्ष गौतमले बताए ।

प्रदेश सरकारले कर्णालीमा नाटक महोत्सव हुने भएपछि सहयोग स्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको आयोजक समितिका सदस्य दिपक बुढाले जानकारी दिए । ‘कर्णालीको कला, साहित्यलाई उजागर गर्न र नाट्य कलालाई संरक्षण तथा सम्बद्र्धन गर्न हामीले नाटक महोत्सव आयोजना गरेका थियौं,’ उनले भने, ‘प्रदेश सरकारले १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । यो पैसाले हामी नाटक महोत्सव व्यवस्थापन गर्नेछौं ।’

उनले सुर्खेतका हरेक स्थानीय तहसँग पनि रकम संकलनका लागि पहल गरिरहेको बताए । कार्यक्रममा सार्क क्षेत्रका प्रतिष्ठित नाट्यकर्मीको पनि सहभागिता रहनेछ । आरङ्ग र सास्कृतिक संस्थानको १–१ वटा प्रस्तुति रहने सदस्य बुढाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्