
काठमाडौं – सुशासनका दृष्टिले यो वर्ष पनि मुलुकमा देखिने गरी प्रगति हासिल नभएको पाइएको छ ।
मुलुक भ्रष्टाचारको सूचांकमा गत वर्षकै तुलनामा यस वर्ष पनि रहेकाले सुशासनमा देखिने गरी प्रगति हासिल नभएको पाइएको हो ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलवार ‘भ्रष्टाचार अवधारणा सूचांक’ सार्वजनिक गर्दै नेपाल गत वर्षजस्तै ३१ अंक ल्याएर १ सय ८० मुलुकमध्ये १ सय २४ औं स्थानमा परेर सुशासनमा कुनै प्रगति हासिल नगरेको हो ।
भ्रष्टाचार अवधारणा सूचांकमा मुलुकले गत वर्षझैं यस वर्ष पनि १०० पूर्णाङ्कमा ३१ अंक ल्याएकाले सुशासनमा सुधार नभएको ट्रान्सपरेन्सीका अध्यक्ष खेमराज रेग्मीले जानकारी दिए । ‘गत वर्ष हामी ३१ अंक ल्याउँदै १२२ औं स्थानमा रहेका थियौं,’ उनले भने, ‘तर अहिले गत वर्षझैं ३१ अंक ल्याएपनि हामीभन्दा अरु २ देशले प्रगति गरेको हुनाले यस वर्ष १ सय २४ औं स्थानमा परेको हो ।’
अध्यक्ष रेग्मीले नेपालमा सबैभन्दा बढी भ्रष्टाचार राजनीतिक र कर्मचारीतन्त्रमा रहेको बताए । ‘नेपाल निर्वाचन भएर दुईतिहाइको सरकार आएपछि भ्रष्टाचार घटेको छैन,’ उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष भ्रष्टाचारको अवधारणामा सुधार देखिएको छैन, त्यसैले नेपालको अवस्था चिन्ताजनक रहेको छ ।’
नेपालसहित ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलवार विश्वका १ सय ८० देशको भ्रष्टाचारको सूचांक सार्वजनिक गरेको छ । ट्रान्सपरेन्सीले सार्वजनिक गरेको सूचांकमा सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा सोमलिया र कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क छन् ।
सय पूर्णाङ्कमा सोमलियाले १० अंक र डेनमार्कले ८८ अंक ल्याएका छन् । ट्रान्सपरेन्सीको प्रतिवेदनमा दुईतिहाइ मुलुकले ५० भन्दा कम अंक पाएका छन् । धेरै मुुलुक भ्रष्टाचारविरुद्ध प्रतिबद्धता जनाएपनि प्रयास गर्न चुकेका छन् । प्रतिवेदनमा भ्रष्टाचार कम हुने मुलुकमा कानूनी शासन, स्वतन्त्र नियमनकारी निकाय, स्वतन्त्र प्रेस र नागरिक समाजलाई खुलापन गरेका छन् भने भ्रष्टाचार बढी हुने मुलुकमा राजनीतिक अधिकारमा कमी, नियन्त्रित मिडिया र फितलो कानूनी शासन रहेको उल्लेख गरिएको छ ।
ट्रान्सपरेन्सीका महासचिव मुकुन्दबहादुर प्रधानले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनपछि नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारवाहीमा कमी, सूचनामा नागरिकको पहुँचमा कमी, राजनीतिक भ्रष्टाचारजस्ता दीर्घकालीन समस्या विद्यमान रहेकाले भ्रष्टाचार नघटेको बताए ।
ट्रान्सपरेन्सीसँग आवद्ध विभिन्न संघसंस्थाले गत वर्ष नेपालका विभिन्न क्षेत्रमा भएका कामको अध्ययनको आधारमा उक्त सूचांक निकालेको हो । विश्व बैंकले नेपाल सरकारद्वारा सार्वजनिक क्षेत्रका पदाधिकारीको कामकारवाहीमा निगरानीको स्थिति र नागरिक समाजलाई राज्यका काम कारवाहीको जानकारीमा पहुँच, विश्व आर्थिक मञ्च आयात, निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्कापट्टा र न्याय प्राप्तिका लागि घुस विषयमा र ग्लोबल इनसाइटले व्यापार, व्यवसाय, आयात निर्यातमा हुने भ्रष्टाचारमा सर्वेक्षण गरेको छ ।
यस्तै वर्टेल्सम्यान फाउन्डेसनले सार्वजनिक पद दुरुपयोगमा कारवाही र सरकारबाट भ्रष्टाचार नियन्त्रणबारे, वल्र्ड जस्टिस प्रोजेक्टले सरकार, न्यायलय, संसद् र सुरक्षा निकायमा प्रतिनिधिद्वारा निजी स्वार्थका लागि पदको दुरुपयोगको बारेमा र भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्टले राजनीतिक भ्रष्टाचारको व्यापकताजस्ता विषयमाथि सर्वेक्षण गरेको थियो ।
अध्यक्ष रेग्मीले नेपालमा सरकारले भ्रष्टाचार नियन्त्रण गर्न बनेका निकायका पदाधिकारी र भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानून आफू अनुकूल बनाउने गरेकोले भ्रष्टाचारको सूचांक ज्यूँ का त्यूँ भएको बताए । ‘अहिले स्थिर सरकार भएकाले भ्रष्टाचार सुधार हुने हामीले अपेक्षा गरेका थियौं,’ उनले भने, ‘तर स्थिर सरकार भएपनि जनताको हितमा काम गरेको पाइएन ।’
उनका अनुसार नेपालमा सबैभन्दा ठूलो भ्रष्टाचार राजनीतिक दलले गर्ने नीतिगत भ्रष्टाचार रहेको छ । सार्वजनिक सेवा प्रवाह हुने भ्रष्टाचारले जनता आतंकित भएको अध्यक्ष रेग्मीले जानकारी गराए । ट्रान्सपरेन्सीले सन् २००४ देखि नेपालको भ्रष्टाचारको सूचांक सार्वजनिक गर्दै आएको छ । पूर्वमुख्यसचिव विमल कोइरालाले भ्रष्टाचार रोकथाममा सरकारले कुनै कदम नचालेकाले भ्रष्टाचार बढेको बताए ।
‘स्थिर सरकार भएपनि मुलुकमा सुशासन कायम हुने अपेक्षा हुन्छ,’ उनले भने, ‘तर अहिलेको सरकार स्थिर भए पनि सुशासन कायम गर्न नसक्दा भ्रष्टाचार नियन्त्रणमा कुनै सुधार भएन ।’ नेपाल सन् २०१६ मा २९ अंक ल्याउँदै १३१ औं, २०१५ मा २७ अंक ल्याउँदै १३०, २०१४ मा २९ अंक ल्याउँदै १२६ औं, २०१३ मा ३१ अंक ल्याउँदै ११९ र २०१२ मा २७ अंक ल्याउँदै १३९ औं स्थानमा परेको थियो ।
सन् २०१८ मा भ्रष्टाचारको सूचांकमा दक्षिण एशियाली मुलुकमध्ये भुटान ६८ अंक ल्याउँदै २५ औं स्थान र अफगानिस्तान १६ अंक ल्याउँदै १७२ औं स्थानमा रहेका छन् । – शरद शर्मा/रासस