
काठमाडौं, १ पुस –वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेपनि रेमिट्यास बढेकोे छ ।
नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) को प्रथम चौमासिक अवधिमा रेमिट्यान्स ७ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ ।
बैंकका अनुसार गत साउनदेखि कात्तिक सम्ममा १ लाख २५ हजार ७ सय ८१ जनाले अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।
सोही अवधिमा २ खर्ब ३२ अर्ब १४ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको बैंकको तथ्याङ्क छ ।
चालू आवको प्रथम चौमासमा विदेशिनेको संख्या गत आवको सोही अवधिको तुलनामा ७ दशमलव ९ प्रतिशतले कमी आएको बैंकले जनाएको छ । गत वर्षको सोही अवधिममा विदेशिनेको संख्या १ लाख ३६ हजार ५ सय ७६ जना थियो ।
सुध्रियो शोधनान्तर बचतअघिल्ला तीन महिनाहरू लगातार घाटामा रहेको चालु खाता २०७३ कात्तिकमा १ अर्ब ८६ करोड रुपैयाँले बचतमा रहेको बैंकले जनाएको छ । त्यस्तै अघिल्लो वर्षको चार महिनासम्ममा ८३ अर्ब ७० करोड रुपैयाँले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा २१ अर्ब ९८ करोड रुपैयाँले बचतमा रहेको बैंकको प्रतिवेदनमा उल्लेख छ ।
समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर ३ अर्ब ३८ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ५ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर ४ अर्ब ६१ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी १अर्ब १२ करोड रहेको थियो ।
साढे १० खर्ब पुग्यो विनिमय सञ्चिति समीक्षा अवधिमा कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ६१ अर्ब २८ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । कुल सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २२ दशमलव ४ प्रतिशत रहेको बैंकले जनाएको छ ।