
काठमाडौं – प्रदेश नम्बर २ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रभू बैंक लिमिटेडबीच बुधवार ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत कार्यक्रम कार्यान्वयन सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
प्रदेशस्तरीय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट सचिव हरिप्रसाद फुयाल र प्रभू बैंक लिमिटेडका तर्पmबाट सहायक महाप्रबन्धक अशोक खड्गीले सम्झौतामा हस्ताक्षर गरी प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन् ।
सम्झौताअनुसार पहिलो चरणमा प्रदेश नम्बर २ अन्तर्गतका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लामा सञ्चालनमा आएको छ । मन्त्रालयको सम्झौताको आधारमा कार्यक्रम अन्य जिल्लामा समेत विस्तार हुनेछ ।
अभियानअन्तर्गत २०७५ माघ १ गतेपश्चात् ८ जिल्लामा जन्मिएका छोरीको नाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सिफारिसको आधारमा प्रभू बैंक लिमिटेडले २० वर्षको अवधिको लागि मुद्दती खाता खोलिदिनेछ ।
मन्त्रालयले प्रदान गर्ने १३ हजार ६ सय ४६ रुपैयाँ र १५ पैसामा खोलिएको मुद्दति खाता २० वर्षपछि सम्बन्धित छोरीको अभिभावकले एकमुष्ठ १ लाख रुपैयाँ पाउने व्यवस्था रहेको छ ।
खाता खोलिएको छोरीको मृत्यु भएमा वा कडा रोग लागेको प्रमाणित भएका वा अभिभावकको मृत्यु भएमा मन्त्रालयको सिफारिसको आधारमा खातामा जम्मा भएको रकमको साँवा र व्याज प्राप्त गर्न सकिने व्यवस्था समेत रहेको छ ।
प्रदेश नम्बर २ स्थित मन्त्रिपरिषद्को कार्यालयले सञ्चालनमा ल्याएको लोकप्रिय कार्यक्रम मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियानमा बैंकिङ सहकार्य गर्दै प्रभू बैंक लिमिटेडले आफूलाई व्यावसायिक मात्र नभएर समाजसेवी बैंकको रुपमा स्थापित गराउन अग्रसर रहेको छ । निरन्तर व्यावसायिक सफलता हासिल गरिरहेको प्रभू बैंकले अभियानलाई आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने अवसरको रुपमा लिएको छ ।
प्रदेश नम्बर २ को लोकप्रिय कार्यक्रम र प्रभू बैंक लिमिटेड सामाजिक सेवाभाव सहितको बैंकिङ सेवा उपभोग गरी प्रदेश नम्बर २ को समग्र विकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।