
काठमाडौँ–प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसको अवरोधका बीच राष्ट्रियसभाले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ बहुमतले पारित गरेको छ ।
बिहीबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयकमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त प्रस्तावमा तीन सांसदले संशोधन पेश गरेका थिए । संशोधन प्रस्ताव प्रस्तुत गर्दै सांसद वृषेशचन्द्र लालले विधेयकलाई संशोधनसहित विधायन समितिमा पठाउन माग गरे ।
संशोधन प्रस्ताव राखेका सांसदद्वय राधेश्याम अधिकारी र सरिता प्रसाईंले आफूहरु अवरोधसहित विरोधमा रहेकाले भाग नलिने जानकारी गराए ।
यसैबीचसङ्घीय संसद्, प्रतिनिधिसभाको बिहीबारको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको विरोधका कारण स्थगन भएको छ ।
सभामुख कृष्णबहादुर महराले संसद्को बैठक शुरु गर्नेबित्तिकै काङ्ग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए । अर्को बैठक आइतबार बस्नेछ ।
मन्त्रिपरिषद्का निर्णय
सरकारले विगतमा जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका दुई हजार ८०७ राष्ट्रसेवकलाई शहीद घोषणा गरेको छ । यही माघ १४ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले उक्त जानकारी दिएका हुन् ।
उनका अनुसार नेपाली सेनाका एक हजार १८, नेपाल प्रहरीका एक हजार ४४८, सशस्त्र प्रहरी बल नेपालका ३१८ र राष्ट्रिय अनुसन्धान विभागका २३ सहित जम्मा दुई हजार ८०७ लाई शहीद घोषणा गरी सबैको नाम नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको छ ।
बैठकले नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेडलाई मिलाएर आपूर्तिसम्बन्धी काम गर्ने व्यवस्थाका लागि उपयुक्त नामसहित छुट्टै कम्पनीमा रुपान्तरण गर्ने आवश्यक प्रक्रिया अघि बढाउन सैद्धान्तिक स्वीकृति दिएको छ । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ सङ्घीय संसद्मा पेश गर्न मन्त्रिपरिषद बैठकले स्वीकृति दिएको सञ्चारमन्त्री बाँस्कोटाले बताए ।
त्यस्तै, बैठकले राजदूत नियुक्तिसमबन्धी निर्देशिका, २०७५ संशोधन गर्ने निर्णय गरेको छ । पर्साको ठोरी गाउँपालिका केन्द्र र बोगटान गाउँपालिकाको नाम परिवर्तन गरिएको छ । कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्समक्ष पेश गर्न स्वीकृति दिनाका साथै सुरक्षण मुद्रणसम्बन्धी विधेयक तर्जुमा गर्न तयार पारिएको अवधारणापत्र स्वीकृत गरेको पत्रकार सम्मेलानमा सञ्चारमन्त्रीले जानकारी दिए ।
सरकारले विभिन्न विकास समितिहरु सङ्घअन्तर्गत यथावत् रहने गरी कायम गरेको छ । जसअनुरुप जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र विकास समिति (गठन) आदेश, २०७० बमोजिम गठित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, दुलेगौँडा, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समिति (गठन) आदेश, २०७३ बमोजिम गठित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, नेपालगञ्ज बाँके रहेको छ ।
धुर्मुस–सुन्तली फाउन्डेसनलाई दिइएको जग्गाविरुद्ध सर्वोच्चमा मुद्दा
सर्वोच्च अदालतमा मुद्दा परेको जग्गामा धुर्मुस–सुन्तली फाउन्डेसनलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको जिम्मा दिइएको छ ।
त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको ३ सय ५६ बिगाहा जग्गा २०६७ सालमा गठित कृषि तथा बन विश्वविद्यालयले भोगचलन गर्न पाउनुपर्ने दाबीसहित सर्वोच्च अदालतमा मुद्दा हालेको थियो ।
मुद्दाको किनारा नै नलागी भरतपुर महानगरपालिकाले २० बिगाहा ८ कठ्ठा जग्गा रंगशाला निर्माण गर्न सम्झौता गरेको हो ।
फाउन्डेसन र महानगरपालिकाबीच रंगशाला निर्माण गर्न सम्झौता भएपछि विवाद भएको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।
चार न्यायाधीशलाई स्पष्टीकरण
न्याय परिषद्ले न्याय कार्यसम्पादनमा बदनियत देखिएको उजुरीका आधारमा चार न्यायाधीशलाई स्पष्टीकरण सोधेको छ ।
न्यायपालिकाको शुद्धीकरण अभियानक्रममा परिषद्ले तनहुँ जिल्ला न्यायाधीश ओमकार उपाध्याय, ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वङ्गल आत्रेय, सर्लाहीका जिल्ला न्यायाधीश राजेश काफ्ले र भक्तपुरका जिल्ला न्यायाधीश मोहम्मद जुनैद आजादलाई सात दिने लिखित स्पष्टीकरण सोधेको हो । परिषद्ले ती न्यायाधीशले न्याय सम्पादन गर्दाको कार्यसम्पादनका विषयमा जाँचबुझ गर्न सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराइको संयोजकत्वमा तीन सदस्सीय कमिटी गठन गरेको छ ।
घूस लिएको अभियोगमा नासु पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ जिल्ला अदालतका नायब सुब्बा भोलानाथ चालिसेलाई रु पाँच लाख घूस लिएको अभियोगमा पक्राउ गरेको छ ।
सवारी ज्यान मुद्दा सहज गराइदिने भनी सेवाग्राहीसँग घूस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले उनलाई बबरमहलबाट पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।
यस्तै आयोगले यातायात व्यवस्था सवारी चालक अनुमतिपत्र कार्यालयका आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
दुई राप्रपाबीच आज एकीकरण
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीको एकीकरणपछि नयाँ पार्टीको नाम राप्रपा (संयुक्त) राखिने भएको छ । दुई पार्टीबीच आज एकता हुँदैछ ।
सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र, सबै पक्षलाई चित्त बुझ्ने सहमति र साझा संस्थाका रुपमा राजसंस्थासहितको प्रजातन्त्रलाई वैचारिक नीतिका रुपमा पार्टीले अवलम्बन गर्नेछ । संविधानको असहमतिलाई यथावत् कायम राख्दै संविधान कार्यान्वयनमा प्रतिबद्ध रहने उक्त पार्टीले राष्ट्रियता, प्रजातन्त्र र उदारवादका साथै असंलग्न परराष्ट्र नीतिलाई पार्टीले आधार बनाएको छ ।
एकीकृत पार्टीको अध्यक्ष पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनी हुनेछन् ।
पाँच भारतीय महिला पक्राउ
महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक सवारी साधनमा पाकेटमारी गर्ने पाँच भारतीय महिलालाई पक्राउ गरेको छ ।
वृत्तको टोलीले बसुन्धराबाट नारायणगोपाल चोक जाँदै गरेको कान्तिपुर बसमा पाकेटमारी गर्ने भारत गोरखपुरका प्रिति चमार, नितु चमार, पुजा चमार, पिङ्की चमार र सोनी चमारलाई बिहीबार पक्राउ गरेको हो वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईंले सुस्मिता कँुवरको रु ५२ हजार पाकेटरमारी गरेर बसबाट ओर्लर्न लाग्दा पक्राउ गरीएको बताए ।
अनशन तोड्न सभापति देउवाको आग्रह
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका छन् ।
डा केसी अनशन बसेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगी सभापति देउवाले उनलाई बिग्रदो स्वास्थ्य अवस्थालाई ख्यालमा राखेर अनशन तोड्न आग्रह गरेका हुन् ।
डा केसीलाई भेट्न सभापति देउवासहित पूर्वमन्त्री एवं काँग्रेस नेता गगनकुमार थापालगायतका नेता शिक्षण अस्पताल पुगेका थिए ।
चर्को ब्याजदरप्रति महासङ्घको ध्यानाकर्षण
नेपाल राष्ट्रिय व्यवसाय महासङ्घले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा बढाइएको चर्को ब्याजदरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासङ्घका अध्यक्ष नरेश कटुवालले विज्ञप्ति जारी गरी सरकारले विना धितो कारोवारको प्रकृति हेरेर सहुलियत दरमा ब्याजदर उपलब्ध गराउनुको साटो बैंक तथा वित्तीय क्षेत्रले लिँदै आएको ब्याज झण्डै दोब्बर बनाएकोमा उद्योगी व्यवसायी हतोत्साहित बन्न पुगेको बताए ।
“अनियमित घरभाडा वृद्धि, चर्को भन्सार शुल्क, झन्झटिलो भन्सार प्रक्रियालगायतका समस्या खेपिरहेका उद्योगी व्यवसायी ब्याजदरका नाममा बैंक तथा वित्तीय क्षेत्रमा बढाइएको ब्याजदरले झन क्रसित बन्न पुगेका छन्”, विज्ञप्तिमा भनिएको छ ।
बैंक तथा वित्तीय क्षेत्रले नाफा कमाउने उद्देश्यले बढाइएको ब्याजदरले उद्योगी व्यवसायीलाई व्यवसाय क्षेत्रमा निरुत्साहित पार्न खोजेको महासङ्घले जनाएको छ । महासङ्घले ब्याजदर वृद्धिलाई नियन्त्रण गरी पुरानै ब्याजदर कायम राख्न माग गर्दै आफ्ना माग पूरा नगरे कडा आन्दोलन गर्ने जनाएको छ ।
पहिलो टी–२० मा नेपाल पराजित
घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको पहिलो टी–२० क्रिकेटमा नेपाल पराजित भएको छ । दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा बिहीबार भएको पहिलो खेलमा नेपाल यूएईसँग २१ रनले पराजित भएको हो ।
यूएईले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाई १३२ रन बनायो । नेपालका लागि डेब्यु खेलाडी सन्दीप जोराले अर्धशतकीय इनिङ खेले । उनले ४६ बलमा एक छक्का र तीन चौकाको मद्दतमा अविजित रहँदै ५३ रन बनाए । सोमपाल कामीले २७ र कप्तान पारस खड्काले २५ रन जोडे ।
बलिङतर्फ यूएईका कप्तान मोहमद नाभिद, सुल्तान अहमद र जाहोर खानले दुई÷दुई विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको यूएईले ६ विकेट गुमाएर १५३ रन बनाएको थियो । साइमन अनवरले ५९ रन, मोहमद उस्मानले ३०, सीपी रिजवानले २२ तथा मोहमद बोताले अविजित २० रन बनाए ।
बलिङतर्फ नेपालका सन्दीप लामिछाने र वसन्त रेग्मीले दुई÷दुई तथा सोमपाल कामी र अविनाश बोहोराले एक÷एक विकेट लिए । जितसँगै यूएईले नेपालविरुद्धको तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । अब नेपालले घरेलु टोलीविरुद्धको दोस्रो टी–२० खेल शुक्रबार खेल्नेछ । नेपालले तीन खेलको एकदिवसीय सिरिज भने २–१ ले जितिसकेको छ ।