३१ जेठ २०८३, आइतबार

बाग्मती सफाई अभियानको २ सय हप्ता : कति भयो काम ?

कात्तिक २०, २०७४
बाग्मती सफाई अभियानको २ सय हप्ता : कति भयो काम ?
काठमाडौं, २७ फागुन – २०७० साल जेठदेखि स्वतःस्फूर्त रुपमा चलाइएको बाग्मती सफाइ अभियानले भोलि (शनिवार) २ सय औं हप्ता नाघ्दैछ । २ सयौ हप्ताको अवसरमा शनिवार पदयात्रा आयोजना गरिएको छ ।
काठमाडौं उपत्यकाको सभ्यतासँग जोडिएको बाग्मती नदीमा प्रदुषण अत्यधिक रुपमा बढ्न थालेपछि करीव ४ वर्षअघि नेपाल सरकारका तत्कालिन मूख्य सचिव लिलामणि पौडेलले सफाई अभियान चलाएका थिए ।

अभियान सुरु गरिएयता प्रत्येक साताको शनिवार बाग्मती सफाई गरिँदै आएको छ । सरकार वा कुनै दातृनिकायको प्रत्यक्ष सहयोग बिना स्वयंसेवी रुपमा नै बाग्मती सरसफाई अभियान चल्दै आएको छ । यही स्वयंसेवी अभियानकै कारण बाग्मतीको मुहारमा पहिलेभन्दा धेरै परिवर्तन देखिएको छ ।

९ हजार मेट्रिक टन फोहोर व्यवस्थापन

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका अनुसार बाग्मती सफाई अभियान सुरु भएयता हालसम्म ९ हजार मेट्रिक टनभन्दा बढी ठोस फोहोर व्यवस्थापन गरिसकिएको छ । ‘बाग्मती नदी, किनारा तथा त्यसका आसपासमा फ्ँयाकिएका करीव ९ हजार मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ,’ अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास उपसमिति प्रमुख योगेन्द्र चित्रकारले  लोकान्तरसँग भने ।

समितिका अनुसार बाग्मतीलाई सफा, स्वच्छ र हराभरा बनाउन पूर्वाधार विकास कार्य पनि तीब्र गतिमा भइरहेको छ । यसअन्तर्गत ढल व्यवस्थापन, नदी नियन्त्रण, करिडर निर्माण, पार्क बनाउने लगायतका कामहरू भईरहेका समिति बताउँछ । सरकार, दातृ निकाय, निजी संघसंस्था र स्वयंसेवकको सहयोगमा यी काम अघि बढेको समिति बताउँछ ।

गोकर्णेश्वरदेखि चोभारसम्म ढललाइन विछ्याइँदै

समितिका अनुसार बाग्मतीको गोकर्णेश्वरदेखि चोभारसम्मको दूरीमा ढल व्यवस्थापनका लागि अहिले तीब्र गतिमा काम भइरहेको छ । उक्त लम्बाइको नदी क्षेत्रका दुवै किनारामा ढललाईन ओच्याउने काम भइरहेको समितिको भनाई छ । उक्त चाँडै नै सम्पन्न हुने समितिको विश्वास छ ।

उपसमिति प्रमुख चित्रकारका अनुसार ढल व्यवस्थापनका लागि बाग्मती र धोवीखोलाको ४२ किलोमिटर लम्बाईको क्षेत्रमा ढल निर्माणको काम हुँदैछ । त्यस्तै, ११ किलोमिटर लम्बाईको नदी क्षेत्रमा करिडोर खोल्ने काम पनि अघि बढिरहेको समितिले जानकारी दिएको छ ।

२३ किलोमिटरमा नदी नियन्त्रणको काम सम्पन्न
समितिका अनुसार बाग्मती नदीको २३ किलोमिटर लम्बाई क्षेत्रमा नदी नियन्त्रणको काम सम्पन्न भएको छ । बाग्मतीको दुवै किनारामा पर्खाल लगायत पूर्वाधारबाट नदी नियन्त्रण गर्ने प्रयास भएको उपसमितिको भनाई छ । वर्षाको समयमा बाढी, पहिरो लगायतबाट हुनसक्ने सम्भावित क्षति न्यूनिकरण गर्न दुवै किनारामा पर्खाल लगाइएको हो ।

थप २४ स्थानमा हरियाली बनाउन सम्झौता

बाग्मतीको सौन्दर्य बढाउन नदी किनाराका खुला स्थानमा बृक्षरोपण लगायतका काम गर्नका लागि विभिन्न संघसंस्थासँग सम्झौतासमेत भइसकेको समितिले जनाएको छ ।

‘बाग्मतीको सौन्दर्य बढाउनका लागि विभिन्न २४ निजी संघसंस्थासँग सम्झौता भएको छ,’ उपसमितिका प्रमुख चित्रकारले भने । यसका लागि आवश्यक जग्गा भने सरकारले उपलब्ध गराउने छ । बाग्मती क्षेत्रलाई हरियाली बनाउनका लागि आवश्यक काम कार्यान्वयनका चरणमा रहेको उनले बताए ।

हालसम्म समितिले विभिन्न १५ स्थानमा हरियाली बनाउने काम सम्पन्न गरिसकेको छ भने बाँकी ७ स्थानमा यस्तो काम अघि बढिरहेको छ ।

पार्क बनाउन ४५ संघसंस्था इच्छुक

त्यस्तै, बाग्मती क्षेत्रका विभिन्न स्थानमा पार्क बनाउनका लागि पनि पहल भइरहेको समितिले बताएको छ । जसअन्तर्गत पार्क बनाउनका लागि विभिन्न ४५ संघसंस्थाले इच्छा जाहेर गरेको चित्रकारले बताए । यसका लागि सम्झौता भने भइनसकेको उनले बताए । ‘इच्छा जाहेर गरेका संघसंस्थालाई तिनको कार्यक्षमता हेरेर निर्णय गरिनेछ,’ उपसमिति प्रमुख चित्रकारले थपे ।

हालसम्म अपेक्षित र सन्तोषजनक रुपमै बाग्मती सफाई अभियान चलिरहेको समितिको ठहर छ ।
बाग्मती सफाई अभियानको २ सय औं हप्ता पुगेको अवसरमा समितिले शनिवार विशेष कार्यक्रम समेत आयोजना गर्ने तय गरेको छ । जसका लागि बाग्मती क्षेत्रलाई विभिन्न १४ सेक्टरमा विभाजन गरेर सरसफाई अभियानसमेत सञ्चालन गरिँदै छ । सम्बन्धित विभिन्न मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यविभाजन समेत गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्