
काठमाडौं – नेपालमा सातामा २/३ वटा चलचित्र प्रदर्शनमा आउनु अब नौलो रहेन । चलचित्र प्रदर्शनमा आउँछन् केही दिनमै उत्रिन्छन् । दर्शकले प्रदर्शनमा आएको र उत्रिएको समेत पत्तो पाउँदैनन् ।
गत साता त्यस्तै भयो, हल्लाखल्ला बिनै तीन चलचित्र प्रदर्शनमा आए । त्यसको जानकारी न दर्शकले पाए, न चलचित्रकर्मीले नै । सहरका भित्तामा टाँसिएका पोष्टर देखेपछि पो दर्शकले पत्तो पाए, ए ! आज त यी चलचित्र प्रदर्शनमा आएछन् । चलचित्र हेर्न दर्शकले कुनै चासो नै देखाएनन् । अन्नतः एक–दुई दिनमै चलचित्र हलबाट उत्रिए ।
आजबाट पनि हलमा तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । गाईपालक युवाको कथामा बनेको ‘गोपी’, मनोज गजुरेलको डेब्यू ‘भ्रष्टाचारविरुद्ध प्रेम’को नारा बोकेको चलचित्र ‘सयकडा दश’ र दक्षिण भारतीय शैलीमा बनेको एक्सन, लभस्टोरी ‘रणवीर’ मैदानमा उत्रिएका हुन् ।
तर यी चलचित्रको प्रसंग अघिल्लो साताभन्दा फरक छ । कारण, यी चलचित्रको विभिन्न कारणले बजारमा चर्चा छ, चासो छ, अझै भनौं पहिलेदेखि नै चर्चा थियो, चासो थियो ।
वीपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त लगायतको मुख्य भूमिका रहेको चलचित्र ‘गोपी’लाई चलचित्र समीक्षक तथा रंगपत्रकार दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । यसअघि ‘घामपानी’ निर्देशन गरेका दीपेन्द्रको ‘गोपी’ स्वावलम्वन गाईपालकको कथामा निर्मित चलचित्र हो ।
आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रमा पटकथा सामिप्यराज तिमल्सिनाले लेखेका छन् । त्यस्तै कार्यकारी निर्मातामा श्रीधर पौडेल, छायाकार शैलेन्द्र डी कार्की र सम्पादक निमेष श्रेष्ठ रहेका छन् ।
चलचित्रमा विप्लव प्रतीक र बुद्धिसागरले लेखेका गीतलाई न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहले कम्पोज गरेका छन् । पाश्र्व संगीत रोहित शाक्यको सुन्न सकिन्छ । चलचित्रमा प्रकाश घिमिरे, रमेश अधिकारी, अंकित खड्का, भोला सापकोटा, कमलमणि नेपाल, कुन्ती सिमाली, हिउँबाला गौतम, सरोज अर्याल, केशव राई लगायतको पनि अभिनय रहेको छ ।
त्यस्तै ‘सयकडा दश’लाई रामशरण पाठकले निर्देशन गरेका हुन् । उनले यसअघि ‘प्रेम गीत २’ निर्देशन गरेका थिए ।
यो चलचित्र हास्य कलाकार मनोज गजुरेलका कारण पनि चर्चामा छ । मनोज यसै चलचित्रमार्फत् सिने नगरीमा डेब्यू गरेका हुन् भने कलाकार राजाराम पौडेलले यही फिल्ममा पहिलोपटक लगानी गरेका छन् । राजारामको पनि चलचित्रमा मुख्य भूमिका छ । चलचित्रमा मनोज र राजारामका साथमा अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपाने, रवि डंगोल लगायतको अभिनय छ ।
चलचित्रको निर्मातामा रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय र सञ्जिव न्यौपाने रहेका छन् । चलचित्रको छायाकार रामेश्वर कार्की हुन् । बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन रहेको चलचित्रमा रज्जु प्रधानको कथा छ ।
आजैबाट प्रदर्शनमा आएको ‘रणवीर’ एक्सन र लभस्टोरी कथामा बनेको चलचित्र हो । दक्षिण भारतीय चलचित्रमा सहायक निर्देशन गरेका गोविन्दसिंह भण्डारीले यो चलचित्र निर्देशन गरेका हुन् ।
गोमा विष्ट थापा र दीपेन्द्र रेग्मी निर्मित चलचित्रमा सुशील सिटौला, प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।
चलचित्रमा हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहेको छ । चलचित्रमा निर्देशककै कथा, पटकथा तथा संवाद छ । यही फिल्मबाट सन् २०१२ की मिस इन्टरनेसनल शुभेक्षा फिल्म इन्डस्ट्रीमा प्रवेश गरेकी हुन् ।
चलचित्र उद्योगको शुक्रबारे यो लडाईंमा व्यापारिक हिसाबमा कुन चलचित्रले बाजी मार्ला ? प्रतिक्षा गर्नुको विकल्प छैन ।